धरान(डेस्क):पथरी शनिश्चरे नगरपालिकामा आज बिहान आफ्नै डेरा नजिक एक महिला मृत अवस्थामा फेला परेको घटनाबारे पथरी उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाउदै अपराधीहरु सक्रिय भएको दाबी गरेको छ ।

मृतक रिना बस्नेत पथरी १ स्थित एस.आर.एस.कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोपाइटर पनि थिइन् । उनको अकल्पनीय, शंकास्पद र निन्दनियढंगले रहस्यमय मृत्यु भएको संघले आज एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । संघका अध्यक्ष दीपक बस्नेत र महासचिव अशोककुमार राईले जारी गरेको विप्ज्ञप्तीमा स्थानीय प्रहरी प्रशासनले शान्ति सुरक्षा दिन नसकेको आरोपसमेत लगाइएको छ । विज्ञप्तीमा पथरी क्षेत्रमा केही समयदेखि अपराधीहरु सक्रिय हुदै आएको दाबी गर्दै भनिएको छ,‘यसक्षेत्रमा केही समयदेखि उद्योगी, व्यापारी व्यवसायी तथा नागरिकले आफुलाई असुरक्षित महशुस गर्दै आएको परिप्रेक्ष्यमा यस घटनाले अझ अपराधीहरु सक्रिय हुदै गएको पुष्टि भएको छ । दिनानुदिन बढ्दै गएको चन्दा आतंकदेखि रहस्यमय मृत्युवरण हुदासम्म स्थानीय प्रशासनबाट कुनै किसिमको शान्ति सुरक्षा महशुस गर्न नगसकेको जगजाहेर छ ।’

संघले रहस्यमय घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र जघन्य अपराधिक घटनाको दोषीहरुलाई तत्काल कानुनी दायरामा ल्याएर कडा कार्वाही गर्न पनि संघले सम्बन्धित निकायसँग माग गरेको छ । साथै संघले सम्पुर्ण उद्योगी, व्यापारी, व्यवसायी तथा नागरिकको सुरक्षा सम्बन्धी हेलचेक्राई गरेमा कडा कदम चाल्ने पनि चेतावनी दिइएको छ ।

आज बिहानै २९ बर्षीय बस्नेत आफ्नै डेराअघि नग्न अवस्थामा मृत फेला परेकी थिइन् । शुक्रबार राती पथरीमा आयोजित कन्सर्ट हेरेर डेरा फिरेकी बस्नेतको शव बिहानै मर्निङ वाकको क्रममा स्थानीयले देखेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट राती बस्नेतले बाहिरैबाट मदिरा पिएर आएको र कोठामा पनि वियर लिएर आएको खुलेको छ । यस्तै, उनले लगाउने कपडा राती आफ्नै कोठामा खोलेर सुतेको पनि खुलेको छ । मृतकका ११ बर्षीय छोरा पनि उनीसँगै थिए । छोरासँगको कुराकानीबाट पनि मृतकले मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ ।