इटहरी: फूलबारी युवा क्लबको आयोजनामा इटहरीमा भएको प्रथम खुल्ला नकआउट भलिबल प्रतियोगिताको उपाधि इटहरी २० तरहराको हाँसपोसा सामूदायिक बन क्लबले हात पारेको छ ।

शनिबार इटहरी ८ मा भएको फाइनल खेलमा हाँसपोसाले सगरमाथा युवा क्लब इटहरीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेटमा २७–२५, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१८ को सोझो सेटले हाँसपोसाले सगरमाथालाई पराजित गरेको हो । योसँगै बिजेता टिमले नगद दश हजार सहित ट्रफि हात पारेको छ भने उपविजेता टिमले नगद पाँच हजार सहित ट्रफिमा चित्त बुझायो । ‘हामीले खेल जित्ने लक्ष्य लिएर नै आएका थियौँ, सानो प्रतियोगिता भएपनि प्रतिष्पर्धात्मक ढंगले बिजयी भइयो,’हाँसपोसाका टिम मेनेजर रुपक थापाले भने ।

खेलमा १० वटा टिम सहभागी भएको आयोजक फूलबारी युवा क्लबका अध्यक्ष डिल्ली प्रसाद आचार्यले बताए । उनका अनुसार यो पहिलो प्रतियोगिता भएकाले आगामी बर्षहरुमा ठूलो राशीको र रोचक ढंगले प्रतियोगिता आयोजना गरिनेछ । कार्यक्रमको प्रमुख अतिथि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलले खेल क्षेत्र स्वास्थ्यका लागि मात्रै फाइदा नभई यसले सकारात्मक सोचका लागि उत्प्रेरणा गर्ने बताए । उनले भने,‘हामीकहाँ खेल खेल्ने चलन नै छैन भएपनि नियमित छैन । खेल नियमित मर्यादित ढंगले खेल्नु आवश्यक देखिन्छ । यस्ता प्रतियोगिताहरु निरन्तर हुन आवश्यक छ ।’

स्थानीय स्तरमा नयाँ खेलाडी उत्पादन गर्न र यहाँका नयाँ पुस्ताका खेलाडीलाई लक्षित गरी यो प्रतियोगिता गर्नु अनुकरणीय रहेको बतउँदै उनले यस्ता प्रतियोगिताले निरन्तरता पाउँनुपर्नेमा जोड दिए । साथै सोही कार्यक्रमको अवसर पारेर स्थानीय केशव न्यौपानेलाई सम्मान समेत गरिएको थियो । उनले खेल क्षेत्र सँगै यहाँको सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्यार्एको भन्दै सम्मान गरिएको थियो ।