धरान: नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको ४८ औं महाधिवेशनको आयोजना सुनसरीको धरानमा हुने भएको छ ।

राष्ट्रिय महाधिवेशनलाई सम्पन्न गर्न रेडक्रसको सुनसरी जिल्ला सभापति उमेश थापाको संयोजकत्वमा महाधिवेशन मुल समारोह समिति र स्टेयरिङ समिति पनि गठन भइसकेको छ । बैशाख २३ गतेदेखि २६ गतेसम्म धरानमा हुने महाधिवेशनबारे आज शनिबार मुल समिति र स्टेयरिङ समितिको पहिलो बैठक धरान १ स्थित रेडक्रस भवनमा बसेको थियो । बैठकमा सदस्यहरुलाई महाधिवेशनबारे जानकारी गराउदै आवश्यक सुझाव तथा राय संकलन गर्ने कार्य भएको जिल्ला सभापति एवं मुल समारोह समितिका संयोजक उमेश थापाले जानकारी दिए ।

महाधिवेशनमा ७७ जिल्ला शाखाका प्रतिनिधि, केन्द्रीय समिति, ससाझेदा संस्थालगायतसमेबाट गरी कुल ४ सय सहभागी हुनेछन् । महाधिवेशनले ३० सदस्यीय केन्द्रीय समिति पनि चयन गर्ने संयोजक थापाले जानकारी दिए । महाधिवेशनले एक अध्यक्ष, एक महिला र एक पुरुष उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष सहित ३० सदस्यीय कार्यसमिति चयन गर्नेछ । कार्यक्रम धरान १३ स्थित धरान ब्यांकेटमा हुने उनले बताए ।

IMG_20190420_143400

विभिन्न समितिहरु पनि गठन गरिएको छ । महाधिवेशनको अतिथि सत्कार समिति,स्वयमसेवक परिचालन समिति, हल व्यवस्थापन समिति, आर्थिक व्यवस्थापन समिति,स्मारिका प्रकशन समिति, रिफ्रेशमेन्ट समिति, रजिष्ट्रेशन समिति र आवास व्यवस्थापन समिति पनि गठन भएको छ । मुल समारोह समितिले बैशाख २२ गते पत्रकार सम्मेलन गरेर महाधिवेशनबारे जानकारी गराउनेछ भने २३ गते बिहान रेडक्रश शाखा भवनबाट प्रभातफेरी शुरु हुनेछ ।

कार्यक्रममा संविधान सभाकी पुर्वसभासद एवं रेडक्रस सुनसरीकी सल्लाहकार अनिता परियार, धरान उपमहानगरपालिकाका प्रवक्ता एवं कार्यपालिका सदस्य मणिराम राई, साविक एमाले अध्यक्ष नारायण सुवेदी, हाँसपोशा उपशाखा सभापति चन्द्र गिरी, कोषाध्यक्ष शिवराज श्रेष्ठलगायतले पनि राय तथा सुझावहरु दिएका थिए । पुर्वसभासद परियारले महाधिवेशन सम्पन्न गर्नको लागि आर्थिक संकलनको अभियानलाई भविष्यको लागि फण्ड समेत बनाउनतर्फ पनि आग्रह गरेकी थिइन् । साथै, महाविधेशनमा देशभरबाट आउने प्रतिनिधिहरुलाई पर्यटन प्रर्वद्धनको लागि घुमाउने व्यवस्था गर्न पनि उनले अग्रह गरिन् । यस्तै, रेडक्रसका पूर्वसभापति टोमप्रसाद आचार्यले यो महाधिवेशनलाई रेडक्रसको इतिहासमा नमुना र सधै सम्झनलायक महाधिवेशन बनाउन आग्रह गरे ।