ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “ताप्लेजुङमै मूत्रथैलीको पत्थरीको शल्यक्रिया” शीर्षकको समाचार छापिएको छ । हिमाली जिल्ला ताप्लेजुङमै पहिलोपटक मूत्रथैलीमा रहेको पत्थरीको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पताल ताप्लेजुङमा बिहीबार विहान डा. महेश्वर गोसाईको नेतृत्वको टोलीले जिल्लाकै मिक्वाखोला गाउँपालिका खोक्लिङका ३५ वर्षीय पुरुषको सफल शल्यक्रिया गरेको हो । अस्पतालका निमित्त प्रमुख डाक्टर स्वर्णिम लामाका अनुसार शल्यक्रियाका लागि करिब २ घण्टा समय लागेको थियो । सिस्टोलिथोटोमी विधिबाट ठुलो रुद्राक्षको दाना जत्रो पत्थरी निकालिएको अस्पताल प्रशासनले जनाएको छ । यसभन्दा अघि यस्तो शल्यक्रिया ताप्लेजुङमा भएको थिएन । अबका दिनमा भने यस्तो खालको शल्यक्रिया ििजल्लामा नै गर्न सकिने निमित्त प्रमुख लामाले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “अलमलिने ठाउँ छैनः मुख्यमन्त्री” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संविधान मान्दैनौँ भन्दै जलाउनेहरु आज एउटै थलोमा आइसकेकाले सबै पक्ष देशको समृद्धि, विकास र खुसीको युगमा एकढिक्का भएको बताएका छन् । भोजपुरको गौरवको योजना मानिएको भोजपुर सदरमुकामदेखि एयरपोर्ट जोड्ने सडकको कालोपत्रे गर्ने कामको शिल्यान्यास गर्न गृह जिल्ला पुगेका मुख्यमन्त्री राईले संविधानप्रति असन्तृष्टि जनाउनेहरु, छुट्टै मधेस राज्यको माग गर्नेहरु आज सहमतिको बाटोमा आइसकेकाले अब उपलब्धिका दिन सुरु भएको बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “एउटै पसलमा चारपटक चोरी” शीर्षकको समाचार छापिएको छ । निरन्तर चोरीका घटना हुँदासमेत स्थानीय प्रहरीले चोर पत्ता लगाउन नसकेको भन्दै इटहरी उपमहानगरपालिका १९, पकलीका स्थानीयले जिल्ला प्रहरी कार्यालयमा शनिबार निवेदन बुझाएका छन् । पकली क्षेत्रका व्यापारी र सर्वसाधारणले घर तथा पसलमा निरन्तर चोरी हुँदा पनि पकलीको इलाका प्रहरी कार्यालयले नियन्त्रण गर्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन बुझाएका हुन् । पकली क्षेत्रका एउटै पसलमा चारपटकसम्म चोरी भएको पीडितमध्येका एक विनोदकुमार झाले जनाए ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “कोका किनारमा बराह सरोवर बन्ने” शीर्षकको समाचार छापिएको छ । हिन्दु धर्मको चारधाम मध्ये एक बराहक्षेत्रधाम स्थित कोका किनारमा बराह सरोवर निर्माण गरिने भएको छ । शास्त्रमा बराह भगवानले डुब्न लागेको पृथवीलाई ओठले उठाएर रक्षा गरेको आकृतिको मूर्ति सहित बराह सरोवर निर्माण गर्ने तयारी शूरु गरिएको बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए । उनका अनुसार मूर्ति १२ मिटर अग्लो निर्माण गरिने योजना छ । अडाई कट्ठा जग्गामा निर्माण हुने सरोवरमा बराहक्षेत्र मन्दिर दर्शनमा आएका श्रदालुहरुलाई मन्दिर परिसरमा दृष्यावलोकन गरी २, ४ घण्टा समय बिताउने धार्मिक पर्यटकीय पार्कस्थलको रुपमा निर्माण गर्न लागेको हो । संगै बालबालिकाका लागि बाल कुञ्ज पनि निर्माण गरिने योजना छ ।