धरान : आठौं राष्ट्रिय खेलकुदअन्र्तगत प्याराग्लाइडिङ प्रतियोगिताको एकुरेसी विधामा प्रदेश नं १ को टिम दोस्रो स्थानमा छन् ।

दोस्रो दिनको खेल सकिदासम्म नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पहिलो स्थानमा छ भने १ नं प्रदेशको टिम दोस्रो स्थानमा छ । यस्तै, गण्डकी प्रदेश तेस्रो र प्रदेश ७, ३ र ६ क्रमशः चौथो, पाँचौ र छैटौं स्थानमा छ । एकुरेसी विधाको फाइनल भोली सोमबार हुदैछ । प्याराग्लाइडिङ गण्डकी प्रदेशमा हिजो शनिबारदेखि शुरु भएको थियो ।

प्रतियोगितामा १ नं प्रदेशबाट १० जना खेलाडी, एक प्रशिक्षक र एक मेनेजरसहित १२ जना सहभागी छन् । ती मध्ये एकुरेसी विधामा देशवीर जिमीको कप्तानीमा ५ जना खेलाडीहरु प्रतिस्र्धामा सहभागी छन् । यो विधामा जिमीको कप्तानीमा तेम्बा शेर्पा, रोशन बस्नेत, युवराज सुनुवार र विश्वास गुरुङले १ नं प्रदेशको प्रतिनिधित्व गरिरहेका छन् ।

paragliding 2

एकुरेसीमा पहिलो दिन १०७ र दोस्रो दिन ३८ पोइन्ट ल्याएर त्रिभुवन आर्मी क्लब कुल १४५ अंकका साथ पहिलो स्थानमा छन् भने १ नं प्रदेशले पहिलो दिन ३३१ र दोस्रो दिन ६२४ अंक ल्याएर कुल ९५५ अंकका साथ दोस्रो स्थानमा छ । कुल १३१५ अंक ल्याएर तेस्रो स्थानमा रहेको गण्डकी प्रदेशले पहिलो दिन १८५ र दोस्रो दिन ११३० अंक ल्याएको थियो ।

प्रदेश नं १ को कप्तानी गरिरहेका जिमी सोमबार फाइनलमा राम्रो खेलेर स्वर्ण पदक जित्न हरसम्भव प्रयास गर्ने प्रतिक्रिया दिए । ‘सोमबार फाइनल प्रतिस्पर्धात्मक हुन्छ । आजसम्म दोस्रो छौ, गोल्ड मेडल जित्ने लक्ष्य छ,’उनले भने । यसपाली प्याराग्लाइडिङलाई खेलकोरुपमा राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी गराइएको हो । नेपालमा २० बर्षअघिदेखि प्याराग्लाइडिङ भइरहे पनि गत बर्ष एसियन गेम्समा रजत पदक जितेपछि मात्र राज्यले खेलकोरुपमा लिएको हो ।