औजार : आजको औजार दैनिकमा “उपमहानगरले रोक्यो घर नम्बर वितरण” शीर्षकको समाचार छापिएको छ । धरान १३ फुस्रेस्थित श्री पब्लिक मा. विको नाममा रहेको धरान ११ नम्बर मकालु बस्तीको ३ विगाह जग्गामा डेढसय बढीको बसोबास रहेको पाइएको छ । सुकुम्बासीहरुलाई जग्गाको स्वामित्वको लागि धरान उपमहानगरपालिकाले घर नम्बर वितरण गरिरहेको थियो । तर ििवद्यालयले उक्त जग्गा आफ्नो स्वामित्वको रहेको भन्दै उपमहानगरपालिकालाई घर नम्बर वितरण नगर्नको लागि निवेदन दिएपछि घर नम्बर वितरण अहिले रोकिएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “जथाभावी तारले कुरुप बन्दै इटहरी” शीर्षकको समाचार छापिएको छ । विधुत प्राधिकरणले बिजुलीका लागि गाडेका खम्बामै विभिन्न सेवा प्रदायकले टेलिफोन, केबल र इन्टरनेटका तार जथाभावी टाँग्दा इटहरी कुरुप बन्दै गएको छ । केही कम्पनीले अनुमति बिनै लामो समयदेखि तार टाँग्दै आएपनि विधुत् प्राधिकरण मौन बस्दै आएको छ । एउटै खम्बामा ३ सय वटा तार टागिएका छन् । चोक, सडक र गल्लीमा विजुली, टेलिफोन र इन्टरनेटका तारले शहर नै कुरुप बन्दै गएको भए पनि विधुत प्राधिकरण मौन बस्दै आएको छ । क्लासिक टेक नेट कम्पनीले पोलमा टाँगेको तारको करिब २ लाखभन्दा बढी रकम प्राधिकरणलाई बुझाएको छैन ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “कोशी नदी लागुऔषध ओसार पसारको बाटो” शीर्षकको समाचार छापिएको छ । बराहक्षेत्र नगरपालिका पछिल्लो समय शहरीकरण उन्मुख बनेपछि लागुऔषध कारोबारीको संख्या बढेको पाइएको छ । लागुऔषध नियन्त्रणका राजमार्गसम्मको सडकको विकास र भारत संगको खुल्ला सिमा नाकासंगै सप्तकोशी नदीको जलमार्ग मुख्य चुनौती बनेको छ । कारोबारीहरुले युवा पुस्ताहरुलाई लागुऔषधप्रति आकर्षण गर्ने हुँदा युवाहरु यसप्रति फस्दै गएका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले लागुऔषधकारोबारीहरुको बयान र अनुसन्धान अनुसार पुर्व लागुऔषध नै कारोबारी हुने गरेको खुलेको छ । यस क्षेत्रमा सुनसरीको भण्टाबारीबाट मुख्य गरी लागुऔषध भित्रने गरेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “विकासको नाममा किर्ते धन्दा” शीर्षकको समाचार छापिएको छ । किर्ते नागरिकता, किर्ते जग्गा पासदेखि लिएर किर्ते परीक्षार्थी र निरीक्षकसम्मका लागि बदनाम रहेको सप्तरीमा अब विकासका गनिविधि सञ्चालन गर्न निर्माण गरिने उपभोक्ता समितिहरु प्नि किर्ते बन्ने गरेको खुलासाले सर्वसाधारण अचम्मित र चिन्तित छन् । लामो राजनीतिक खिचातानी र संक्रमण झेल्दै तीनै तहको निर्वाचन सम्पन्न भएपछि सर्वसाधारणमा पारदर्शी रुपमा विकासका गतिविधिले गति लिने अपेक्षा थियो । यद्यपि जननिर्वाचित प्रतिनिधिहरुकै उदासिनता तथा राजनीतिक दलका जिम्मेवार नेताहरुको किर्ते धन्दाले सर्वसाधारणमा वर्तमान व्यवस्थाप्रति विस्तारै वितृष्णा बढ्दै गएको नागरिक अगुवाको गुनासो छ ।