विराटनगर : मलद्वारमा लुकाएर लागुऔषध ओसारपसार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् ।

शनिबार साँझ विराटनगर १४ स्थित जतुवा नहरमा भारतको जोगवनीबाट नेपालतर्फ आउँदै गरेका सुनसरी इटहरी ३ का राजन न्यौपाने पक्राउ परेका हुन् । जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेका न्यौपानेमाथि शंका लागी चेकजाँच गर्दा उनको साथबाट डाइजेल्याव एक एम्पुल, लुपिजेसिक एक एम्पुल र एभिल एक एम्पुल फेला परेको थियो । लागुऔषध फेला परेपछि पक्राउ गरी सोधपुछ गर्दा उनले मलद्वारमा समेत लागुऔषध लुकाएर ल्याएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका न्यौपानेले मलद्वारमा लुकाईछिपाई डाइजेल्याव ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र एभिल ६ एम्पुल ल्याएको खुलेको थियो । मलद्वारमा लुकाएर ल्याएको लागुऔषध प्राकृतिक रुपमा दिसाबाट निकालिएको प्रहरीले जनाएको छ ।

–नागरिक पूर्वेलीबाट