काठमाडौं : इसाई धर्मको प्रचार गर्ने दुई जापानी नागरिकलाई गृह मन्त्रालयले देश निकाला गरेको छ । गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई देश निकालासँगै नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको छ ।

उनीहरू विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए । कास्कीको पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न उनीहरूले भिसा लिएका थिए । विद्यार्थी भिसा लिएर धर्मप्रचार गरेकाले उनीहरुलाई निकालिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए ।

अध्यागमन विभागको प्रस्तावमा गृहसचिव प्रेम कुमार राईले ‘सचिव स्तरीय’निर्णयबाट चैत २७ मा उनीहरूलाई निष्कासन गर्ने निर्णय भएको थियो । कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पार्ने काम, व्यवहार गर्न वा गराउन नहुने संविधानमा उल्लेख छ ।

यसअघि गृह मन्त्रालयले एक फिलिपिनी दम्पती, दुई जापानी युवती र एक अस्ट्रेलियन युवतीलाई धर्म प्रचारमा संलग्न भएको आरोपमा निष्कासन गरिसकेको छ ।