धरान:कोरम संख्या नपुगेपछि स्थगित भएको सुनसरी उद्योग वाणिज्य संघ धरानको ३७ औं साधारणसभाको बन्दसत्र बिहिबार(बैशाख १२) गते पुनः हुने भएको छ ।

संघले बिहिबार साधारणसभा हुने सुचना जारी गर्दै सदस्यहरुलाई सहभागिताको लागि आह्वान गरेको छ । यसअघि बैशाख २ गते प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन समारोह सम्पन्न भएपनि बन्दसत्र कोरम संख्या नपुगेर स्थगित भएको थियो । सदस्य संख्याको ५१ प्रतिशत संख्या उपस्थिति नभएकोले २ गते बन्दसत्र स्थगित भएको अध्यक्ष राजेन्द्र साहले जानकारी दिए । ‘बिहिबारलाई साधारणसभाको बन्दसत्र डाकेका छौ, अब ३५ प्रतिशत मात्र सदस्य संख्या उपस्थित भए पुग्छ,’साहले भने ।

बैशाख २ गतेसम्म जम्मा ३ सय ७ जना सदस्यले नवीकरण गरेका थिए । यो संख्याको ५१ प्रतिशत गणना गर्दा १ सय ५५ जना सदस्य बन्दसत्रमा आवश्यक हुन्थ्यो । तर, साधारणसभाको दिन मात्र ८२ जना सदस्य उपस्थित भएपछि स्थगित हुनपुगेको थियो । बिहिबार ३५ प्रतिशत पनि सदस्य उपस्थित नभए पुनः अर्को पटकलाई साधारणसभाको बन्दसत्र सर्नेछ, र तेस्रो पटकमा मात्र २५ प्रतिशत सदस्य संख्या उपस्थित भए पनि हुने विधान छ ।

ubasangh1

संघका महासचिव शिवराज श्रेष्ठका अनुसार बन्दसत्रमा सांगठनिक प्रतिवेदन र लेखा प्रतिवेदन प्रस्तुत भएर सदस्यहरुबीचमा छलफल हुनेछ । त्यसदिनसम्म नवीकरण गर्ने संख्या बढ्न पनि सक्ने उनले बताए । ‘बन्द सत्रमा सांगठनिक र लेखा प्रतिवेदन प्रस्तुत भएर छलफल हुन्छ । नयाँ नेतृत्व चयनको लागि जेठ २७ गते निर्वाचनको मिति कार्यसमितिले तोकिसकेको छ,’महासचिव श्रेष्ठले भने ।

अध्यक्षमा ४ जनाको दाउ

कार्यसमितिले जेठ २७ गते नयाँ कार्यसमिति चयनको लागि निर्वाचन गर्ने मिति तय गरिसकेको छ । संघमा नयाँ नेतृत्वको लागि व्यापारी, व्यवसायीहरुमा महोल तातिदै गएको छ ।

संघको अबको अध्यक्ष को होला ? अहिल्यै भन्न हतार हुनेछ । तर, बजारमा ४ जनाको नाम अध्यक्ष पदमा चर्चामा छ । अध्यक्ष पदको लागि प्रमुख दाबेदार हालका प्रथम उपाध्यक्ष विजय श्रेष्ठ र द्धितिय उपाध्यक्ष गिरीधारी सापकोटा छन् । राजनैतिकरुपमा पनि श्रेष्ठ कांग्रेस र सापकोटा नेकपानिकट भएकोले यी दुवैले अन्तिममा मनोनयन दर्ता गराउने अनुमान छ । व्यपारी, व्यवसायीको चुनाव भनिए पनि राजनैतिक दलको समर्थन र लविङले संघको चुनाव पार्टीगत बन्ने गरेको छ ।

यी दुई बाहेक महासचिव शिवराज श्रेष्ठको नाम पनि चर्चामा छ भने संघका पुर्वअध्यक्ष पवन अग्रवालले पनि अध्यक्ष पदमा पुनः उठ्ने मनसाय व्यक्त गरिरहेको व्यपारी, व्यवसायीहरुले बताएका छन् । तर, मनोनयनको दिन क कस्ले नाम दर्ता गराउनछन्, त्यो भने हेर्न बाँकी छ । ‘म त सकेसम्म निर्विरोध गरौ, सबै साथीभाई नै छौ भनेर मिलाउने प्रयास गरिरहेको छुँ,’महसचिव श्रेष्ठले भने,‘सबै उठ्ने हो भने त म पनि उठ्ने हो ।’