धरान: कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसर पारेर अबको केही बेरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तल्लो कमिटी एकताको घोषणा गर्दैछ ।

हिजो (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेकपाको ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगाएको थियो । जसअनुसार ७७ जिल्ला मध्ये साविक एमालेको भागमा ४४ र साविक माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा अध्यक्ष पाउने गरी भागवण्डा गरिएको छ । तर, अध्यक्ष र सचिवको नामावली भने सार्वजनिक भएको छैन । स्रोतका अनुसार प्रदेश १ मा साविक माओवादीको भागमा ५ वटा जिल्ला परेको छ । जसमा ताप्लेजुङ, सुनसरी, उदयपुर, खोटाङ र ओखलढुंगाको अध्यक्ष साविक माओवादीबाट हुनेछ ।

सुनसरीमा नेकपाको नेतृत्वमा को ?

सुनसरी जिल्लामा अध्यक्ष साविक माओवादी केन्द्रले पाउने भएपछि माओवादीबाट को नेतृत्वमा आउने भन्ने रस्साकस्सी परेको छ । हिजोसम्म शिव डाँगीको नाम थियो । साविक संयोजक सरस्वती पोख्रेल प्रदेश सभा उपसभामुख भएपछि उनले पार्टीको पद त्याग्नुपरेको थियो । त्यसैले पनि नेकपाको अध्यक्ष पदमा रस्साकस्सी चलेको थियो ।

हिजोसम्म डाँगीको नाम तय गरिए पनि आज बिहानै एक्कासी साविक माओवादीबाट योगेन्द्र मण्डल(पप्पु)को नाम अध्यक्षमा आयो । उनी सहसंयोजक पनि भएकोले अध्यक्षको दाबेदार थिए । त्यसैले डाँगी वा मण्डलमध्येबाट सुनसरीको नेकपाको अध्यक्ष को होला भन्ने बिषय पेचिलो बनिरहदा अहिले एक्कासी रामकुमारी चौधरीको नाम आएको छ । चौधरी संघीय सरकारमा राज्यमन्त्री पनि हुन् । 'हिजोसम्म शिव जीको नाम थियो, बिहान फेरि योगेन्द्र जीको नाम आयो । अहिले फेरी रामकुमारी जीको नाम आएको छ,'नेकपाका एक नेताले भने ।

साविक एमालेका सुनसरी जिल्ला अध्यक्ष रमेश बस्नेत भने सचिव पदमा रहने भएका छन् । हुन त जिल्ला अध्यक्ष भइसकेको नेतालाई सचिवमा झार्न नहुने भन्दै सचिव पद हटाएर सहअध्यक्ष बनाउने तयारी भएको पनि बताइएको छ । तर, यथार्थ भने घोषणा सभाबाट मात्र खुल्नेछ । 'साविक अध्यक्ष नै भएपनि अहिले जे पद पाइएको हो, त्यसमा रहने नीतिगत निर्णय भएकोले म सचिवमा नै हुनेछुः'बस्नेतले कपुरीन्यूजसँग भने ।