धरान: साविक एमाले र माओवादी केन्द्र एकीकरण घोषणा भएपछि नेतृत्वविहिन बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुनसरीसहित ७७ वटै जिल्लामा नेतृत्वले आज पुर्णता पाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ७० औं स्थापना दिवस मनाउदै आज नेकपाले जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गरेको हो । योसँगै सुनसरी जिल्लामा पनि नेकपाले नयाँ नेतृत्व पाएको छ । कुल ७७ जिल्लामध्ये ४४ वटामा साविक एमाले र ३३ जिल्लामा साविक माओवादीले अध्यक्ष पाएको छ । अध्यक्ष नपाएको जिल्लामा सचिव पाएको छ । प्रदेश नं १ को १४ जिल्लामा सुनसरीसहित ५ जिल्लामा साविक माओवादीले अध्यक्ष पाएको छ भने ९ जिल्लामा साविक एमालेले पाएको छ । सुनसरीमा जिल्ला कमिटिमा को अध्यक्ष होला भन्ने सर्वत्र चासो र चिन्ताको बीचमा साविक माओवादी केन्द्रबाट योगेन्द्र मण्डल(पप्पु) अध्यक्ष भएका छन् भने सचिवमा साविक एमालेका रमेश बस्नेत भएका छन् । 'अध्यक्षमा योगेन्द्र जी नै हुनुभयो,' सचिव बस्नेतले भने ।

अध्यक्ष चयन गर्न भने साविक माओवादीमा निक्कै रस्साकस्सी परेको थियो । हिजो आइतबारसम्म अध्यक्षमा साविक माओवादीबाट शिव डाँगीको नाम तय भएको थियो । तर, आज बिहान साविक माओवादीका जिल्ला सहसंयोजक रहेका योगेन्द्र मण्डलको नाम आयो । स्थापना दिवस शुरु हुनुअघि राज्यमन्त्री रहेकी नेतृ रामकुमारी चौधरीको पनि नाम विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि थप अन्योल भएको थियो । यी सबै अन्योललाई चिर्दै कार्यक्रममा नेकपाको सुनसरी जिल्ला कमिटिको अध्यक्ष मण्डल भए ।

यी हुन्,प्रदेश १ मा नेकपाको अध्यक्ष र सचिव

ताप्लेजुङ जिल्लामा अध्यक्षमा साविक माओवादीबाट विजय वनेम र साविक एमालेबाट बलबहादुर सम्सोहाङ भएका छन् । पाँचथरमा साविक एमालेबाट अध्यक्षमा राजकुमार भण्डारी र सचिवमा साविक माओवादीबाट होमप्रसाद जवेगु भएका छन् । इलाममा साविक एमालेबाट राम राना अध्यक्ष हुँदा सचिवमा साविक माओवादीबाट सोममाया राई भएका छन् ।

झापाको अध्यक्षमा साविक एमालेबाट चिन्तन पाठक र सचिवमा माओवादी केन्द्रबाट मणिकुमार सम्पाङ, मोरङमा साविक एमालेबाट विनोद ढकाल र सचिवमा साविक माओवादीबाट गोपी अछामी, सुनसरी अध्यक्षमा साविक माओवादीबाट योगेन्द्र मण्डल र सचिवमा साविक एमालेबाट रमेश बस्नेत, धनकुटाको अध्यक्षमा साविक एमालेबाट राजेन्द्र राई र सचिवमा साविक माओवादीबाट ऋर्षिराम ढुंगाना भएका छन् ।

यस्तै, तेह्रथुममा साविक एमालेबाट अध्यक्षमा लक्ष्मण तिवारी र सचिवमा साविक माओवादीबाट इन्द्रबहादुर इमसुङ, संखुवाभासमा साविक एमालेबाट अध्यक्षमा हेमराज घिमिरे र माओवादीबाट कृष्ण याक्खा, भोजपुरमा साविक एमालेबाट प्रेमकुमार राई अध्यक्षमा र सचिवमा साविक माओवादीबाट विमल खड्का भएका छन् । खोटाङको अध्यक्ष साविक माओवादीबाट देवान चाम्लिङ र सचिवमा साविक एमालेबाट बबि चाम्लिङ, सोलुखुम्बुको अध्यक्षमा साविक माओवादीबाट मोहनबहादुर खड्का र सचिवमा साविक एमालेबाट मोहन श्रेष्ठ भएका छन् भने उदयपुरको अध्यक्षमा साविक माओवादीबाट विनोद कटवाल र सचिवमा साविक एमालेबाट ईश्वरमणी राउत भएका छन् ।