धरान(डेस्क):तीन दिनअघि आफ्नै डेराअघि रहस्यमयढंगले निर्वस्त्र महिला मृत फेला परेको घटनालाई लिएर पथरीबासी आन्दोलित भएका छन् ।

पथरी उद्योग वाणिज्य संघ र पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्टसहित घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय पुग्दा प्रहरी निरीक्षक कमल बजगाईले चित्त बुझ्दो जवाफ नपाएको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् । आक्रोशित स्थानीयबासीले पुर्वपश्चिम राजमार्गमा टायर बालेर केही समय नारा जुलुस गर्दै चक्काजाम समेत गरेका थिए ।करिब पौने २ घण्टा नै चक्का जाम भएको थियो । अहिले भने सवारी आवागमन खुलिसकेको स्थानीयबासी एवं पत्रकार अर्जुन जम्नेलीले जानकारी दिए । ‘रहस्यमय मृत्युको घटना निरन्तर भइरहेको छ, जनताले असुरक्षा महसुस गरेका छन्, तर प्रहरी प्रशासन मुकदर्शक भएकोले आक्रोशित छन्,’उनले भने,‘घटनाबारे प्रहरी कार्यालयमा बुझ्न जादा चित्त बुझ्नो जवाफ नपाएपछि आक्रोशमा आएर सडक जाम गरे ।’

स्थानीयबासीले टायर बालेरै सडक जाम गरेपनि अहिले भने खुलिसकेको छ । गत शनिबार बिहानै करिब २९ बर्षीय रिना बस्नेतको शव उनकै डेरा अघि निर्वस्त्र अवस्थामा भेटिएको थियो । उनको हत्या भएको हुनसक्ने आशंका स्थानीयबासी र आफन्तजनहरुले गरिरहेका छन् । तर, अहिलेसम्म घटनाबारे प्रहरीले यथार्थ खुलाउन सकेको छैन । मृतकका ११ बर्षीय छोराले आमालाई बारम्बार फोन गर्ने व्यक्तिको नाम खुलाए पनि प्रहरीले उनलाई अनुसन्धानको दायरामा नल्याएको आक्रोशित स्थानीयबासीको भनाई छ । ‘मृतकको छोराले नामै किटान गरेर फलनाले फोन गरिरहन्थ्यो भनेकोछ, स्थानीयबासीले त्यो व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ भनेका छन्,’पत्रकार राईले भने ।

P_20190422_142644

अहिले पनि इलाका प्रहरी कार्यालय पथरीमा उपप्रमुख विष्टसहित उद्योग वाणिज्य संघको टोली प्रहरीसँग छलफल गरिरहेका छन् । घटनाको ३ दिन बितिसक्दा पनि केही यथार्थ आउन नसकेकोले बुझ्न प्रहरी कार्यालय गएको उपप्रमुख विष्टले बताइन् । ‘आम जनता, व्यापारी व्यवसायीहरुसँग म पनि अहिले इलाका प्रहरीमा नै छु, घटनाको ३ दिन बितिसक्दा पनि केही अत्तोपत्तो छैन । त्यसैले जनता आक्रोशित छन्,’उपप्रमुख विष्टले भनिन्,‘शान्ति सुरक्षा भएन भनेरै हामी यहाँ आएका छौ ।’