इटहरी : विराटनगरको रानीदेखि धरानसम्म निर्माण भईरहेको ६ लेन सडकको काम वैशाख १५ गतेबाट पिँच हुने भएको छ । तर, विजुली पोल र ३३ केभिए प्रसारण लाइनको टावरले भने धेरै अवरोध भइरहेको सडक विभागले जनाएको छ ।

इटहरीको यातायात देखि तरहराको पानीपियासम्म २६४० मिटर सडकको काम तीब्र गतिमा भईरहेको छ । यहि वैशाख १५ गतेबाट पिँचको काम हुने सडक बिभागका इन्जिनिएर सागर बडालले बताए । ‘हामी यहि १५ बाट पिँचको काम सुरु गर्ने तयारीमा छौँ, १२०० मिटर सडक पिँचको काम यहि वैशाखभित्रै सक्ने गरी काम गर्नेछौँ,’उनले कपुरीसँग भने,‘हामी काम गर्दैछौँ, हामीलाई काम गर्न दिईयोस् ।’

उनले काम गर्नेक्रममा विभिन्न बाधा आईपरेको प्रति आपत्ती जनाए । ‘१७०० मिटर सडक बिजुलीको पोल र ३३ केभिए प्रसारण लाइनले गर्दा हामीलाई काम गर्न धेरै असहज भईरहेको छ,’ उनले भने,‘आँपगाछीको मन्दिर र घर, तरहराको केही घर भत्काउन बाँकी छ । अरु काम भने तीब्र गतिमा लगिरहेका छौँ, आगामी असारसम्म सबै काम सक्ने लक्ष्य भएपनि यो पोलले गर्दा ज्यादै समस्या भयो ।’ उनले बिजुलीको पोल भने ठेक्का लागेर केही काम भईरहेको भएपनि सुस्त गतिमा काम भएको बताए । ‘पोल चैँ ठेक्का लागेर हट्ने क्रममा छ,’उनले भने, ‘दुहवीदेखि धरानसम्मको प्रसारण लाईनको ३३ केभिएको टावरको काम अलिकति पनि अगाडि नबढ्दा भने ज्यादै समस्या भएको छ ।’ २०३४ सालको राजपत्रमा प्रकाशित भएको सूचनाको मापदण्डअनुसार नै काम गरिराखेको उनको दाबी छ ।

सडकको दायाँ, बायाँ २५–२५ फुट बाटो बढाइएको र इटहरीदेखि तरहरासम्म अत्याधुनिक तरिकाले गार्डेनसमेत निर्माण भईरहेको छ । फुटपाथसहित ड्रेन बनाउँदा ८२ फुटको सडक निर्माण हुनुपर्ने भएपनि कतै ६५ र केही ठाउँमा ८२ फुटको हिसाबले सडक निर्माण भएको उनको भनाई छ । ‘हामी असारभित्रमा ८० प्रतिसत काम सक्छौँ,’उनले भने,‘तर यो टावर नहटाइदिदाँ भने दुर्घटनाको जोखीम भएको छ । विहानै देखि बेलुका सम्म तनाव हुन्छ, जति स्पीडमा काम गर्थे त्यति हुन सकेको छैन ।’ उनका अनुसार यहाँ रहेका घरहरु ६५ फुटमै भएका कारण भत्काएर सडक निर्माण गर्नु परिरहेको छ । ८२ फुट भित्र रहेका घरहरुको ठाउँमा भने ६५ फुट मात्र सडक निर्माण गरिएको उनको भनाई छ । ‘हामीले अनिवार्य ६५ फुट चैँ सडक निर्माण गरिरहेका छौँ, कतै ८२ पनि छ,’उनले भने ।

इटहरीदेखि बिराटनगरको रानीसम्म भने ५५ फुट मात्र सडक निर्माण हुने इन्जिनिएर बडालले बताए । ‘रानीदेखि दुहबी औद्योगिक क्षेत्र पर्ने भएकाले मापदण्ड नै घटाएको छ,’उनी भन्छन्,‘यातायात कार्यालयदेखि इटहरी ६५ फुटमा काम भईरहेको छ ।’ अहिले निर्माण भईरहेको यातायातदेखि पानीपियासम्मको सडक निर्माण गर्नका लागि ७९ करोडको लागतमा ठेक्का लागेको बताउँदै बडालले भने,‘मैले सडकको काम छिटो गर्नु थिएन भने म यहि बिजुलीको पोललाई बहाना बनाएर काम गर्ने थिईन । हाम्रो टार्गेट भनेको बढीमा पनि आश्बिन भित्र काम सक्नु हो ।’ २०७४ कात्तिक २१ गतेदेखि सुरु भएको ६ लेन सडक काम २०७७ वैशाख ११ गतेभित्र सक्नुपर्नेछ ।