पथरी: पथरी वजारमा व्यपार गर्दै आएकी रिना वस्नेतको रहस्यमय मृत्यु हत्या नै भएको दाबी गर्दै स्थानीयबासीले हत्यामा संलग्न पत्ता लगाएर कारवाही गर्नुपर्ने माग गर्दै एक संघर्ष समिति गठन भएको छ ।

केही समय यता हत्या र ज्यान जाने घटना बढ्न थालेपनि प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको भन्दै आक्रोशित पथरीबासीले आज सोमबार कविता पराजुलीको संयोजकत्वमा संर्घष समिति गठन गरेका हुन् । २५ सदस्यीय समितिको सहसंयोजकमा पथरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजेन्द्र वस्नेत रहेका छन् । संर्घष समितिले मंगलवार पथरी बजार बन्दको घोषणासमेत गरेको सहसंयोजक वस्नेतले जानकारी दिए ।

शनिवार बिहान बस्नेतको शव नग्न अवस्थामा पथरी वजारस्थित उनकै डेरा नजिकै भेटिएको थियो । उनको शव फेला परेको ३ दिन बितिसक्दा पनि सो घटनाबारे सत्य,तथ्य प्रहरीले सार्वजनिक गर्न सकेको छैन । प्रहरी अनुसन्धान फितलो भएको र हालसम्म दोषी पत्ता लाग्न नसकेकोले संर्घषमा उत्रिनु परेको संयोजक पराजुलीले बताइन । सोमवार पथरी उद्योग वाणिज्य संघको अगुवाईमा पथरीशनिश्चरे नगरपालिका र इलाका प्रहरीका कार्यालयमा ध्यानार्कषण गराइएको थियो । सो क्रममा स्थानीयबासी, संघ र पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना बिष्टसहित प्रहरी कार्यालय पुगेका थिए । इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर कमल बजगाईले चित्तवुदो जवाफ नदिएपछि स्थानियवासीले आन्दोलनमा उत्रिएर पुर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध पनि पारेका थिए ।

pathari-andolan

संयोजक पराजुलीका अनुसार प्रहरीले मंगलवार विहानसम्ममा घटनाबारे यथार्थ पत्ता लगाउने वा दोषी पत्ता लगाउने प्रतिवद्धता जनाएको छ । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले पनि पथरीको सुरक्षा अवस्थाप्रति चिन्ता लिदै स्थानीयवासीको सुरक्षा हुनु पर्ने बताए । उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष दिपक वस्नेतका अनुसार व्यापारीको असुरक्षा बढेकोले शान्ति सुरक्षाका लागी प्रहरी र स्थानीय प्र्रशासनको भुमिकालाई ध्यानार्कषण गराएको वताए । सोमबार दिउँसो स्वतस्फुर्त सडकमा उत्रिएका स्थानीयवासीले पथरी बजारमा करिव ४ घण्टा यातायत अवरुद्ध पारेका थिए ।

संर्घष समिकिा सहसंयोजक वस्नेतका अनुसार दोषी पत्ता लागाउनु पर्ने, पीडित परिवारले न्याय पाउनु पर्ने र पथरीवासीको सुरक्षा हुनु पर्ने माग संर्घष समितिले राखेको छ । पथरीमा एक महिनाअघि पनि स्थानीय युवा षडराज तामाङ्गको एक व्यापारीक भवनबाट खसेर मृत्यु भएको भनिएपनि उनको हत्या भएको परिवारले आरोप लगाउदै आएको थियो । प्रहरीले मिलेमतोमा हत्याको घटनालाई खसेर मृत्यु भएको बनाएकोले सत्य,तथ्य छानबिन गर्न माग गरिए पनि सुनुवाई भएको थिएन । यो घटना सेलाउन नपाउदै शनिबार बिहान निर्वस्त्र अवस्थामा बस्नेत मृत भेटिएकी थिइन् । उनको मृत्यु वा हत्या भन्ने यकिन हुन नसके पनि स्थानियवासीले भने हत्या भएको वताउदै आएका छन् । पथरी प्रहरीले सुरक्षा व्यवस्थामा कमजोरी गर्दै आएको स्थानियवासीको आरोप छ । यता पथरी वजारमा ३ वर्ष अघि राखिएको सिसी क्यामरा बिग्रिएर मर्मत नहुदा पनि असुरक्षा बढेको स्थानियवासीको भनाइ छ ।