धरान(डेस्क): चौतर्फी दबाब परेपछि इलाका प्रहरी कार्यालय पथरीले रिना बस्नेत मृत्यु प्रकरणमा उनको प्रेमी भनिएका व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

चार दिनअघि आफ्नै डेरा अघि रहस्यमयढंगले निर्वस्त्र फेला परेकी बस्नेतको हत्या भएको दाबी गर्दै पथरीबासी आन्दोलित भएका थिए । प्रहरीले घटनाको अनुसन्धानमा गम्भीर नबनेको भन्दै हिजो सोमबार करिब ४ घण्टा पुर्वपश्चिम राजमार्ग बन्द समेत गरेका थिए । मृतकका छोराको वयानबाट पनि प्रेमी नेपाल भएको र निरन्तर फोन आएको खुलेपनि प्रहरीले अनुसन्धानमा उनलाई पक्राउ नगरेपछि स्थानीबासीहरु आक्रोशित थिए ।

मोरङका जिल्ला प्रहरी प्रमुख मनोजकुमार केसीले घटनामा संलग्न भएको भनेर नभै चिनजानको र बेला बेला फोन सम्पर्क भएको देखिएपछि सोधपुछको लागि नियन्त्रणमा लिइएको बताए । ‘चिनजान भएको र बेला बेला फोन सम्पर्क भएको पनि देखिएकोले सोधपुछ गर्नलाई लगिएको हो । पक्राउ परेका होइन,’एसपी केसीले भने ।

अफेयर हो वा होइन ?

मृतक रिना र कमलबीच अफेयर भएको बताइएको छ । मृतकका छोराको वयानले पनि त्यस्तै संकेत गरेको छ । तर, मोरङका एसपी केसीले भने अफेयर हो वा होइन भन्न नसकिने बताए । ‘अफेयर केलाई भन्ने ? बेला बेला फोन सम्पर्क भएको देखिन्छ, चिनजानको मान्छे पक्कै हो,’उनले भने ।

प्रहरी भन्छ,'अहिलेसम्म लडेकै देखिन्छ'

pathari-rina

पथरीबासीले रिनाको हत्या गरेको दाबी गरेर आन्दोलन शुरु गरेपनि प्रहरी भने उनी लडेर नै मृत्यु भएको निष्कर्ष नजिक पुगेको छ । रिनाको घाउचोट र अवस्थाले लडेर नै ज्यान गएको अहिलेसम्मको निष्कर्ष भएको एसपी केसीले बताए ।  पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी नै छ । उनले भने,‘प्रारम्भिकरुपमा लडेको घाउचोट भन्दा अरु देखिएको छैन । बाला बांगिएको, कानेको रिङ(टप) फुटेको र चोट पनि त्यस्तै छ । त्यसैले लडेकोबाहेक अन्य केही देखिएको छैन ।’

यद्यपी उनले अन्य प्राविधिकरुपमा पनि अनुसन्धान भइरहेको बताए । एसपी केसीले भने,‘अरु कोहीसँग सम्पर्क भएको छ कि भनेर पनि हेर्दैछौ । त्यसैले कमल नेपाल भन्ने व्यत्तिलाई सोधपुछको लागि लगिएको हो ।’