श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गएरातिदेखि देशभर संकटकाल घोषणा गरेका छन् ।

२ सय ९० जनाको मृत्यु हुने गरी देशका विभिन्न ठाउँमा भएका आतंककारी बम विस्फोटपछि राष्ट्रपति सिरिसेनाले देशभर संकटकाल घोषणा गरेका हुन् । राजधानी कोलम्बोसहित देशका विभिन्न भागमा रहेका चर्च तथा होटलहरुमा भएका ८ वटा शक्तिशाली विस्फोटमा २ सय ९० जनाको मृत्यु भएको थियो । घटनामा ५ सयभन्दा बढी घाइते भएका छन् ।

श्रीलंकाका अधिकारीहरुले बिहीबार भएको बम आक्रमणमा अन्तर्राष्ट्रिय नेटवर्कको संलग्नता रहेको बताएका छन् । सरकारले यसका लागि स्थानीय जेहादी गुट नेसनल तौहिद जमातले अन्तर्राष्ट्रिय आतंकवादी नेटवर्कको सहयोग लिएको हुनसक्ने आशंका गरेको छ । तर हमलाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

यसैबीच आक्रमणको चेतावनी पाएपछि पनि सरकारले त्यसलाई नियन्त्रणमा लिन कुनै प्रयास नगरेको आरोप लागेको छ । राष्ट्रपति सिरिसेनाका सल्लाहकार शिराल लकथिलाकाले आक्रमणको सूचना सरकारले पाएको या नपाएको भन्नेबारे छानबिन भइरहेको बताएका छन् ।

यसअघि श्रीलंकाका एक वरिष्ठ मन्त्री रजित सेनारत्नेले कोलम्बोमा पत्रकारहरुसँग कुरा गर्दै अन्तर्राष्ट्रिय जासुसी एजेन्सीले हमलाको चेतावनी दिएको भए पनि यो सूचना प्रधानमन्त्री रविन विक्रमासिंघेसम्म नपुगेको बताएका थिए ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २४ जनालाई पक्राउ गरेको जनाएको छ ।