धरान: गत चैत २५ गते धरानको जिरोपोइन्टमा भएको भयानक बस दुर्घटनाका एक घाइतको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान १३ की ६८ बर्षीय टिकामाया खत्रीको हिजो सोमबार
राती मृत्यु भएको हो । उक्त बस दुर्घटनामा परी ज्यान गुमाउनेको कुल संख्या ५ पुगेको छ । घटना भएकै दिन ४ जनाको ज्यान गएको थियो । वीपी प्रतिष्ठानस्थित प्रहरी विटका इञ्चार्ज एवं सई दुर्गा पराजुलीका अनुसार मृतक खत्री बसका यात्रु भने थिएनन् । उनी पैदल यात्री भएको र बस दुर्घटनामा पर्दा ठक्कर दिएर गम्भीर घाइते हुन पुगेको थियो । ‘त्यतिबेला बसकै घाइते होला भनियो, तर पछि आफन्तहरुसँग बुझ्दा पैदल हिडिरहेको बेला बस दुर्घटना भएर घाइते भएको थाह भयो,’सई पराजुलीले भने ।

accidents68

धनकुटाको चौबिसे गाउँपालिका स्थित ६ नम्बर बुधबारेबाट धरान आइरहेको बस ब्रेक फेल भएर दुुर्घटनाग्रस्त भएको थियो । शिवधारा आइपुग्दा बस ब्रेकफेल भएको थाह पाएपछि चालकले रोक्नको लागि जिरोपोइन्टमा टेलिकमको पोलमा कोक्काएपनि बस पल्टिएर बिजुलीको पोल, सिमेन्टको फुटबलमा ठोक्किदै स्वमीको रुखमा पनि जोडले ठोक्किएको थियो । चालक धरान निवासी चक्रबहादुर गुरुङको च्यापिएर मृत्यु भएको थियो भने मोरङ केराबारी ९ की यामकुमारी मगर, उनकी ५ महिनाकी छोरी डिना र चौबिसे १ का ५७ बर्षीय दलबहादुर मगरको पनि सोही दिन मृत्यु भएको थियो ।