धरान(डेस्क): शनिबार बिहान निर्वस्त्र अवस्थामा मृत फेला परेकी रिना बस्नेतको हत्या भएको र प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै पथरीबासी आन्दोलित बनेपछि पथरी बजार क्षेत्र थप तनावग्रस्त बनेको छ ।

आज बिहानैदेखि हजारौंको संख्यामा पथरीबासी सडकमा उत्रिएका छन् । तनाव कम हुनुको साटो झन् बिग्रदै गएको छ । भिडलाई तितरवितर पार्न प्रहरीले अहिले लाठी चार्ज गर्नुको साथै दर्जनौं अश्रु ग्याँस प्रहार गरेको छ भने स्थानीयबासीले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन् । अहिले पथरी बजार क्षेत्रमा भागाभागको अवस्था भएको स्थलगत रिपोर्टिङमा रहेका कपुरीन्यूजकर्मी अर्जुन काफ्लेले जानकारी दिएका छन् । ‘दर्जनौ अश्रु ग्याँस प्रहार भएको छ, लाठी चार्ज पनि भइरहेको छ । प्रहरीमाथि ढुंगा प्रहार हुदैछ, र स्थिति भागाभागको छ,’उनले भने ।

घटना परी २ जना घाइते भएका छन् । घाइते हुनेमा पथरी शनिश्चरे १ निवासी जीतबहादुर लावती र पथरी शनिश्चरे ७ की मञ्जु पौडेल छन् । लावतीलाई ढुंगाले लागेको हो भने पौडेल अश्रु ग्याँस लागेर घाइते भएकी हुन् । दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनले पुर्वपश्चिम राजमार्ग ठप्प छ ।

pathari-3 1

बस्नेतको हत्या भएको दाबी गर्दै पथरीबासीहरुले प्रहरीले गम्भीर भएर अनुसन्धान नगरेको भन्दै आन्दोलित भएका हुन् । केही बेरअघि उनीहरुले पथरी शनिश्चरे नगरपालिकामा तोडफोडको प्रयास गरेका थिए भने इलाका प्रहरी कार्यालय पथरीमा ढुंगामुढा पनि गरेका थिए । त्यसपछि सडकमा गएर पथरीबासीहरुले नाराबाजी गरिरहेका थिए । स्थानीयबासीको आन्दोलनले पथरी बजार र पुर्वपश्चिम राजमार्ग ठप्प छ । गएको शनिबार आफ्नै डेरा अघि निर्वस्त्र अवस्थामा बस्नेतको शव भेटिएको थियो । प्रहरीले लडेर खसेको हुनसक्ने बताइरहदा पथरीबासीहरुले भने हत्या भएको भन्दै गहिरो अनुसन्धानको माग गरिरहेका छन् । निरन्तर फोन सम्पर्क भएको आधारमा प्रहरीले अनुसन्धानको लागि मृतकको प्रेमी भनिएका कमल नेपाललाई नियन्त्रणमा लिएको छ ।