पथरी: पथरीबासीको आन्दोलनको कारण बिहानैदेखि अवरुद्ध भएको पुर्वपश्चिम राजमार्ग अहिले सुचारु भएको छ ।

प्रहरीको हवाई फायर र लाठी चार्जपछि निक्कै तनावग्रस्त बनेको पथरी बजार क्षेत्रमा अहिले भने सडक खुलेको हो । अवस्था तनावग्रस्त भएपनि स्थानीयबासीले अलपत्र परेको गाडी र यात्रुको मर्कालाई बुझेर सवारी आवागमन खुलाउन दिएको हो ।

आन्दोलनकारीको कोणसभालाई सम्बोधन गर्दै पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख युमना बिष्टले यात्रुहरुलाई गन्तव्यमा पुग्नको लागि १ घण्टा यातायात खोल्न दिइने बताएकी थिइन् । तर, प्रहरी आफ्नो कार्यालयभित्र जान उनले आग्रह गरेकी थिइन् ।
उपमेयरको यो आग्रह पछि अधिकांश प्रहरीहरु इलाका प्रहरी कार्यालयभित्र गएका थिए । त्यसपछि, संयमित हुदै आन्दोलनकारीहरुले यातायात सुचारु हुन दिएको हो ।