पथरी: रिना बस्नेतको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले गम्भीर भएर अनुसन्धान नगरेको भन्दै आन्दोलित संघर्ष समितिले आन्दोलनको कार्यक्रम तत्कालको लागि स्थगित गरेको घोषणा गरेको छ।

जनप्रतिनिधिको पहलमा इलाका प्रहरी कार्यालयमा भएको सर्वपक्षीय छलफलमा प्रहरीले विज्ञ टोली अनुसन्धानमा खटिएको र पोष्टमार्टम रिपोर्ट नआएसम्म संयम अपनाउन आग्रह गरेपछि संघर्ष समितिले आन्दोलनको कार्यक्रमहरु स्थगित गरेको हो । संघर्ष समितिले आन्दोलन स्थगित गरेको घोषणा गरेपनि त्यसलाई अस्वीकार गर्दै स्थानीयबासीको ठुलो संख्या भने अहिले पनि सडकमै छन् । उनीहरुले सडक बन्द गराउन थालेपछि पुनः ठुलो संख्यामा प्रहरी परिचालन गरेर यातायात सुचारु गराएको छ ।संघर्ष समितिकी संयोजक कविता पराजुलीका अनुसार ३ दिनलाई आन्दोलन स्थगित गरिएको हो ।

छलफलमा मेयर दिलिप राईले प्रहरी प्रशासनको चर्को आलोचना गरेका थिए । दिउँसो पनि प्रहरी कार्यालयमा छलफलबाट सहमति भएर मेयर राईले त्यसबारे आन्दोलनकारीलाई सम्बोधन गरेर जानकारी गराउन लाग्दा एक्कासी प्रहरीले हवाई फायर गर्दा महोल भड्किएको थियो । मेयर राईले सोही घटनालाई लिएर प्रहरी नेतृत्वको आलोचना गरेको उपमेयर यमुना विष्टले बताइन् । उपमेयर विष्टका अनुसार अनुसन्धानको लागि विज्ञ टोली आइसकेकोले प्रहरीले समय माग गरेको छ । साथै पोष्टमार्टम रिपोर्ट आउन पनि केही दिन अझै लाग्ने भएकोले त्यो समयसम्म धैर्य गर्न बिशेष आग्रह भएकोले संघर्ष समितिसहित छलफलमा आन्दोलन स्थगित गर्न सहमति जुटेको उनले बताइन् । ‘मेयर साब, संघर्ष समिति, राजनीतिक दल सबै छलफलमा थियौ,प्रहरीले विज्ञ टोली आएको र पोष्टमार्टमको रिपोर्ट आउन केही दिन लाग्ने भएकोले समय मागेको थियो,’उपमेयर विष्टले भनिन्,‘आन्दोलनकारी पनि पथरीका जिम्मेवार नागरिक नै भएकोले सहमति जुट्यो ।’

arjun-(1)

दिउँसो उपमेयर विष्ट आफै आन्दोनलनकारीसँगै सडकमा उत्रिएर प्रहरीलाई कार्यालयभित्र बस्न आग्रह गरेकी थिइन् । उनकै आग्रहपछि प्रहरी कार्यालयभित्र गएको थियो भने यातायात खुलेको थियो । त्यसपछि सामान्य हुदै गएकोले पथरी बजार पनि खुल्न थालेको थियो । गएको शनिबार बिहानै आफ्नो डेरा अघि २९ बर्षीय रिना बस्नेत निर्वस्त्र अवस्थामा शव भेटिएको थियो । घोप्टो परेको र रगत पनि बगेको अवस्थामा भेटिएकी रिनाको हत्या भएको पथरीबासीको भनाई छ । तर, प्रहरीले भने उनको हत्या भएको कुनै संकेत नमिलेको र ३ तला माथि भएको डेराबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपी, सबै पक्षबाट अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । रिनाको सबै कपडा आफ्नो कोठामा नै भेटिएको र राती कपडा खोलेर नै सुतेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । श्रीमान विदेशमा भएकी रिनाको प्रेमी भनिएका कमल नेपाललाई पनि अनुसन्धानको लागि प्रहरीले हिजो साँझ नै नियन्त्रणमा लिएको थियो ।