धरान: मिडियासँगै जनप्रतिनिधिबाटै पनि आलोचित बनेका धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद खतिवडाको सरुवा भएको छ ।

उनलाई प्रशासनबाट सुचना तथा पर्यटन महाशाखामा कर शाखा पनि हेर्ने गरी सरुवा गरिएको हो । प्रशासनमा उनको ठाउँमा सामाजिक विकास महाशाखाबाट गणेशप्रसाद खतिवडालाई लगिएको छ । सामाजिक विकासमा महिला तथा बालबालिका कार्यालयबाट समायोजन भएर महिला अधिकृत प्रज्ञा निरौला आइसकेकी छिन् । उपमहानगरपालिका स्रोतका अनुसार स्वर्गीय मेयर तारा सुब्बा हुदा नै निक्कै आलोचित बनेका खगेन्द्र खतिवडालाई प्रशासनबाट सरुवा गर्ने तयारी भएको थियो । तर, मेयर सुब्बाको निधन पछि उनी लामो समय त्यही ठाउँमा रहन सकेका थिए ।

पछिल्लो समय पनि उनको कार्यशैलीप्रति कार्यपालिका सदस्य एवं वडाअध्यक्षहरु पनि रुष्ट बनेका थिए । पुर्वएमाले निकट कर्मचारी भएपनि सोही पार्टीबाट चुनिएका वडाअध्यक्षहरुले नै खतिवडाको कार्यशैलीको विरोध गर्ने गरेका थिए । पार्टीको संसदीय दलको बैठकमा पनि खतिवडाको चर्को कुरा उठेपछि पार्टीले नै खतिवडालाई सरुवा गराएको स्रोतको भनाई छ । ‘पछिल्लो समय कर वृद्धिको लफडादेखि थुप्रै बिषयहरुमा वडाअध्यक्ष र पार्टी पनि सन्तुष्ट थिएन, त्यसैले सरुवा भएको हो,’स्रोतले भन्यो ।

स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आउनुपुर्व उपमहानगरमा वरिष्ठ प्रशासकीय अधिकृतकोरुपमा गणेश खतिवडा नै थिए । तर, मेयर तारा सुब्बासँग नजिकिन सफल भएका खतिवडा वरिष्ठ प्रशासकीय अधिकृत हुदै मेयरको सचिवालयसमेतमा रहन सफल भएका थिए । उनको बिषयमा त्यतिबेला पनि आलोचना भएको थियो । पछिल्लो समय सिक्किम भ्रमणमा जादाको खर्चलाई लिएर पनि जनप्रतिनिधिसँगै खतिवडाको चर्को आलोचना भएको थियो ।

उपमहानगरपालिकाका प्रवक्ता तथा सुशासन समितिका संयोजक एवं वडा नं २० का अध्यक्ष मणिराम राईले वरिष्ठा प्रशासकीय अधिकृत खतिवडाको बढी नै आलोचना भएकोले त्यो ठाउँमा राखिरहन उपयुक्त नहुने भनेर सरुवा गरिएको बताए । ‘उहाँको बिषयमा बढी नै आलोचना भएको हो, त्यसैले सुशासन समितिले त्यो ठाउँमा राखिरहन मिल्दैन भनेको हो,’उनले भने,‘तर उहाँलाई कारबाही गरिएको वा अन्य हिसाबले सरुवा गरिएको होइन ।’