खोटाङ : निमोनियाका कारण साकेला गाउँपालिका–३, खिदिमाका वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएको छ ।

गत चैतदेखि बिरामी भएका ३९ वर्षीय वडाध्यक्ष उनको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको हो । सुरुमा रुघाखोकीले थलिएका राईमा विस्तारै विषमज्वरो र निमोनिया भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि दिक्तेल ल्याउनेक्रममा सौर्य भन्ने ठाउँमा ल्याइपुर्‍याउँदा राईको मृत्यु भएको आफन्तले बताएका छन् । उनको बाटैमा मृत्यु भएपछि आफन्तले सोमबार राति नै घर फर्काएका र अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर अहिले घरमा राखिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए ।

श्रद्धाञ्जलिका लागि जिल्लास्थित नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० जिल्ला नेता–कार्यकर्ता स्वर्गीय वडाध्यक्ष राईको घर पुगेका छन् ।श्रद्धाञ्जलिसभापछि आजै उनको दाहसंस्कार गरिने आफन्तले बताएका छन् । तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा विजयी राई उक्त पार्टीका जिल्ला सदस्य थिए ।

पार्टीको युवा तथा विकासप्रेमी नेता गुमेकोप्रति नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।