श्रीलंकामा आइतबारको बम विस्फोटमा परि ज्यान गुमाउनेहरुको सामुहिक अन्त्येष्टि गरिएको छ ।

राष्ट्रिय शोककामाझ आइतबारको बम हमलामा ज्यान गुमाएकाहरूको सामुहिक अन्तिम संस्कार गरिएको हो । त्यसक्रममा पुरै मुलुकमा तीन मिनेटको मौनधारण गरिएको थियो । थप हमलाहरू हुनबाट रोक्न घोषणा गरिएको संकटकाललाई निरन्तरता दिइएको छ । विभिन्न चर्च र होटेलहरूमा भएका हमलाहरूमा मारिनेको संख्या ३२१ पुगेको र झण्डै पाँचसय जना घाइते भएका प्रहरीले जनाएको छ ।

इस्लामिक स्टेटले घटनाको तीन दिनपछि आफ्नो समाचार निकाय ‘अमाक’मार्फत उक्त आक्रमणको जिम्मेदारी दाबी गरेको छ ।उसले अमेरिकी गठबन्धनका नागरिक र श्रीलंकाका इसाईहरुलाई आफ्ना लडाकुहरुले निशाना बनाएको जिकिर गरेको छ ।इस्लामिक स्टेटले कुनै पनि घटनामा आफ्नो संलग्नता भए तत्काल जिम्मेदारी लिएर आफ्नो समाचार निकायमा तस्वीर सार्वजनिक गर्ने गर्दथ्यो तर यसपटक भने उसले त्यसो गरेको छैन ।

यद्यपि श्रीलङ्काली सरकारले ती विस्फोटहरूका लागि स्थानीय इस्लामिस्ट समूह न्याशनल तौहिद जमातलाई दोषी ठहर्याएको छ ।उक्त हमलाको सम्बन्धमा प्रहरीले हालसम्म ४० जना सन्दिग्धहरूलाई गिरफ्तार गरेको छ । गिरफ्तारीमा परेकाहरूमा एकजना सिरियाली नागरिक पनि छन् जसलाई स्थानीय सन्दिग्धहरूलाई केरकार गरेपछि पक्राउ गरिएको थियो ।

हताहत भएकामध्ये कम्तीमा ३६ जना विदेशी नागरिक भएको बताइएको छ ।