पथरी: रिना वस्नेतको हत्या भएको भन्दै हत्यारा पत्ता लगाएर कारवाही गर्न माग गर्दै आन्दोलनमा उत्रिएका सर्वसाधारण जनतामाथि प्रहरीले वल प्रयोग गरेको घटनाप्रति प्रदेश सभा सदस्य तथा नेपाली काग्रेसका प्रदेश नम्वर १ का सचेतक सुर्यमाराज राईले निन्दा गरेका छन् ।

पथरीमा वुधवार आयोजना गरिएको एक कार्यक्रममा राईले प्रहरीले सहमति विपरीत आश्रुग्याँस प्रयोग गरेको घटना ज्यादै निन्दनीय भएको बताए । जनताको आक्रोश बढेको बेला प्रहरीले दमन गरेर थप स्थितिलाई भड्काउन खोजेको पनि उनले आरोप लगाए । पथरीशनिश्चरे नगरपालिकामा भएको छलफलमा बोल्दै राईले पथरी क्षेत्रको सुरक्षा व्यवस्था कडाइ गर्न आफुले प्रदेशसभामा कुरा राख्ने र सुरक्षाको लागि पहल थाल्नेपनि बताए । राईले भने,‘पथरीवासीमा सुरक्षाको प्रत्याभुत हुनु पर्छ, यसको लागि म प्रदेश सभाबाट सरकारको पनि ध्यानाकर्षण गराउनेछुँ ।’

हत्या भएको भनिएकी वस्नेतको पोष्र्टमार्टम भएको र उनको भिसेरा रिर्पाट आउन ७ दिन बढी लाग्ने भएकोले त्यस दिनसम्म पनि सत्यतथ्य बाहिर आउने राईले आशा व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानाले घटनाका बारेमा अनुसन्धान जारी राखेको र वास्तविकताको नजिक पुगेर अपराधी पत्ता लगाउने पनि बताए । अनुमानलाई प्रमाणले पुष्टी गर्ने भएकाले प्रहरीले त्यसतर्फ ध्यान दिएको ढुङ्गानाले वताए । शंका लागेको व्यक्तिलाई सोधपुछ जारी राखेको उनको तर्क थियो । अपराधी पत्ता लगाउन प्रविधीको प्रयोग प्रहरीले गरिरहेको र थप प्रविधि मगाएको उनले बताए ।

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले यस घटनापछि पथरीको शान्तिसुरक्षामा चिन्ता बढेको र शान्तिसुृरक्षा कायम गर्न सुरक्षा निकायसँग स्थानिय सरकार सहकार्य गर्न तयार रहेको पनि मेयर राईले बताए । सोही कार्यक्रममा उद्योग वाणिज्य संघ पथरीका महासचिव अशोक साम्पाङ्ग, पत्रकार अर्जुन जम्नेली, पथरी जेसीसका दिपेन्द्र तिम्सिना, मञ्जरी घिमीरे, व्यापारी पर्शु कार्की, वीरवहादुर वस्नेत लगायतले पथरीको सुरक्षाका वारेमा आफ्ना धारणा राखेका थिए ।

छलफलमा वोल्ने अधिकांशले पथरीमा लगातार हत्या हुँदा पनि प्रहरी अपराधी पत्ता लगाउने भन्दा अन्यतिर घटनालाई मोड्न लागेको आरोप लगाएका थिए । पथरीको सिक्का बारमा भएको षडराज तामाङ्गको मृत्युलाई समेत सामान्य रुपमा प्रहरीले लिएको उनीहरुको आरोप थियो । पथरीमा ५ जनाको शंकास्पद रुपमा शव भेटिदा पनि प्रहरीले गम्भीरतापुर्वक अनुसन्धान नगरेको उनीहरुको भनाई थियो ।