ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “कार्यदलले बुझायो प्रतिवेदन” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयद्वारा गठित भाष, साहित्य, कला तथा संस्कृतिसम्बन्धी कार्यदलले प्रदेशको एकिकृत प्राज्ञिक संस्थाको लागि तीनवटा नाम सिफारिस गरेको छ । प्रा.डा. टङ्कप्रसाद न्यौपानेको संयोजत्वमा बनेको १३ सदस्यीय कार्यदलले प्रदेशको एकिकृत प्राज्ञिक संस्थाको नाम, राख्न तीनवटा नाम सिफारिस गरेको हो । कार्यदलले प्रदेशको प्राज्ञिक संस्थाको नाम राख्न प्रादेशिक ज्ञानपीठ, भाषा, साहित्य कला तथा सांस्कृतिक प्रतिष्ठान र प्रादेशिक प्रतिष्ठान सिफारिस गरेको छ । यी तीनमध्ये एउटा नाम राख्न प्रदेश सरकारलाई सुझावसहित कार्यदलले ४६ सूत्रिय भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि अध्ययन प्रतिवेदन सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई बुधबार बुझाएका छन् । गत पुष १३ गते कार्यदल गठन भएको थियो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “झुण्डिएको अवस्थामा शव फेला” शीर्षकको समाचार छापिएको छ । जनकपुरको एक सुधारगृहमा मानसिक रोगी झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरको क्याम्पसचोकस्थित रिलिफ नेपाल नामको सुधारगृहमा सर्लाही ईश्वरपुर नगरपालिका ५ फुलजोरका ४५ वर्षीय राजन घिमिरेको शव झुण्डिएको अवस्थामा फेला परेको हो । मंगलबार साँझ ७ बजेतिर घिमिरेको शव सुधार गृहमा सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

त्यसैगरी आजको नागरिक दैनिकमा “अपराध रोकथामका लागि सहकार्य” शीर्षकको समाचार अर्को समाचार पनि छापिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले रणनीतिक तथा पूर्वक्रियात्मक प्रहरी परिचालन विधिबाट अपराध रोकथाम र नियन्त्रणमा उल्लेख्य सफलता पाएको भन्दै यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन समुदायसंग सहयोगको याचना गरेको छ । जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाले समुदायका सदस्यले सुदृढ सुरक्षाका लागि प्रहरीसंग साझेदारी गरेमा अपराध रोकथाम र न्यूनिकरणमा ठुलो नतिजा हात लाग्ने भन्दै नागरिक–प्रहरी साझेदारी गरेका छन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “मुख्यमन्त्रीकै मन्त्रालयमा असन्तृष्टि” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्हालेका दुई मन्त्रालयको कामप्रति सत्तारुढ नेकपाका सांसदहरुले उनकै अगाडि असन्तुष्टि पोखेका छन् । बुधबार बसेको नेकपा संसदीय दलको बैठकमा बोल्ने सांसदहरुले मुख्यमन्त्री राईले सम्हाल्दै आएको भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको काममा असन्तृष्टी जनाएका हुन् । सरकारको काम कारबाहीको समिक्षासहित बृहत विराट क्षेत्र विकास विधेकमा सहमति खोज्न बसेको नेकपा संसदीय दलको बैठकमा मन्त्री नियुक्त नभएकै कारण दुई मन्त्रालय अन्तरगतका काम कारवाही प्रभावकारी नभएको सांसदहरुले टिप्पणी गरेका हुन् ।

त्यसैगरी आजको उद्घोष दैनिकमा “घुस लिएको आरोपमा कर्मचारी पक्राउ” शीर्षकको अर्को समाचार पनि छापिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले इलामबाट बुधबार दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा विनोद विसी र युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्यलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । एक व्यक्तिको राहदानीको प्रतिलिपी निकाल्ने क्रममा ६ हजार रुपैयाँ घुस मागेपछि उनीहरुलाई घुस रकमसहित नियन्त्रणमा लिइएको हो । दुवै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि इटहरी ल्याइएको बताइएको छ ।