धरान(डेस्क) : नेपाल महिला एकता समाज सुनसरीको आयोजना तथा नेपाल महिला एकता समाज केन्द्रिय कार्यालयको सहयोगमा बुधबारदेखि धरानमा ३ दिने सिप विकासका लागि व्यवसाय क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल महिला एकता समाज सुनसरी जिल्लाका पुर्व अध्यक्ष तथा केन्द्रिय कोषाध्यक्ष सिता राना मगरद्वारा सबैलाई स्वागत गर्दै संस्थाले सिपलाई सिपमा मात्र सिमित नराखी आयसगँ जोड्ने कुरालाई उजागर गराएकी थिइन । यसैगरी नेपाल महिला एकता समाजकी केन्द्रिय कोषाध्यक्ष विना बुद्धाचार्यले नेपाल महिला एकता समाज विभिन्न ठाउँमा सुकुम्बासीमा बसोबास गर्ने महिलाहरुको संगठन रहेको जसले सुकुम्बासीहहरुको सुरक्षित बास अधिकारको सवालमा कार्य गरेको जसमा महिलाको सुरक्षा, महिलाको सशक्तिकरण र सवलिकरणमा वृहत कार्य गर्दै आएको बताइन् । उनले कार्यक्रमको उद्देश्यलाई प्रकाश पार्दै महिलाको सिपलाई बजारसम्म लैजाने, समाजमा स्थापित जीवनयापन गर्न सहजिकरण गर्ने, आयआर्जन अभिवृद्धिका लागि टेवा पुराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन् ।

यसैगरी कार्यक्रममा धरान उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका कार्यक्रम अधिकृत प्रज्ञा निरौलाले सिपलाई व्यापार बनाउनका लागि महिलाहरुले विभिन्न अवसर पाउनु पर्छ र पाएको अवसरलाई प्रभावकारी बनाउन तयार पनि हुनुपर्ने कुरामा जोड दिएकी थिइन् । उनले शुभकामना दिदै यो तालिमको अवसरलाई पुर्ण रुपमा सदुपयोग गर्नुपर्ने विचार व्यक्त गरेकी थिइन् । यसैगरी धरानको उद्यमी महिला पुर्ण मास्केले आफुले १ वटा मेसिनबाट सुरु गरेको सिपलाई ६० वटा सम्म बढाई अरुलाई पनि सिप अगाडि बढाउने अवसरको बाटो सृजना गरेको कुरा प्रेरणादायी रुपमा रहेको व्यक्त गरेकी थिइन् । त्यसैगरी वडा नं. १३ का अध्यक्ष  नेत्र प्रसाद काफ्लेले सिपलाई बजारसम्म लैजानका लागि वडाले स्थानिय रुपमा सहयोग गर्न सक्ने विचार व्यक्त गरेका थिए । तीन दिनसम्म हुने उक्त तालिममा प्रदेश १ का सुनसरी, धनकुटा, झापा र मोरङ्ग गरि झण्डै  २ दर्जन महिलाहरुको सहभागिता रहेको छ ।

तालिमको उद्घाटनमा सभाअध्यक्ष नेपाल महिला एकता समाज सुनसरी जिल्ला अध्यक्ष श्री मैंया श्रेष्ठको सभाअध्यक्षता, धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखाका कार्यक्रम अधिकृत श्री प्रज्ञा निरौलाज्यूको प्रमुख आतिथ्य र अतिथीहरु धरान उपमहानगरपालिका वडा नं १३ का अध्यक्ष नेत्र प्रसाद काफ्ले, कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराई, धरान अव्यवस्थित वस्ती व्यवस्थापन समिति अध्यक्ष हिरा देवि राई, दिव्य ज्योती सहकारी धरानका अध्यक्ष माया प्रधान लगायतको सहभागिता रहेका थिए ।