धरान:मृतक एक महिलाको जग्गालाई किर्ते हकवाला खडा गरेर नामसारी गरी किनबेच गर्ने तत्कालीन मालपोत र नापी कार्यालय धरानका ४ जना कर्मचारीसहित ५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

करिब २ बर्ष लामो अनुसन्धान पछि अख्तियारले हिजो बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले खगेन्द्रकुमारी गिरीलाई राई बनाएर कर्णबहादुर राईको नाममा नामसारी गर्न सरकारी कागजात सच्याई भ्रष्टचारजन्य कार्य गरेको पुष्टि भएको जनाउदै ४ जना कर्मचारीसहित ५ जनालाई मुद्दा दायर गरेको प्रवक्त प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । अख्तियारका अनुसार तत्कालीन मालपोत कार्यालय सुनसरीका अधिकृत फडिन्द्र भटराई, नायब सुब्बा डिल्लीराम कोइराला, नापी कार्यालयका तत्कालीन सर्भेक्षक योगेन्द्रप्रसाद यादव, मालपोत कार्यालय धरानका खरीदार श्यामप्रसाद लो र किर्ते हकवाला कर्णबहादुर राईलाई पनि मुद्दा दायर गरिएको छ । कर्मचारीसहित पाँचै जनालाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार अख्तियारले सजाय मागदाबी गरेको छ ।

यस्तो थियो मिलेमतोको घटना

malpots

नापी कार्यालयको फिल्डबुकको कैफियत महलमा उल्लेख भएअनुसार धरान १ बस्ने ‘खगेन्द्र कुमारी’ नाम भएकी महिलाको साविक धरान ११ ‘ग’ को कित्ता नम्बर ३६ को जग्गा थियो । यो कित्तामा ११ कट्टा ५ धुर जग्गा छ । यो जग्गा धरान १४ विजयपुरस्थित दुई धारे पथमा पर्छ । फिल्डबुकमा यो जग्गा खगेन्द्र कुमारीको नम्बरी भएको उल्लेख भएपनि उनको थर भने खुलाइएको छैन । तर, भुमाफिया गिरोह र विचौलियाले विजयपुरका कर्णबहादुर राईलाई हकवाला छोरा बनाएर खगेन्द्र कुमारीको जग्गा नामसारी गरेर किनबेच भएको थियो । किर्ते हकवाला खडा गरी नामसारी गराउन नापीका सर्वेक्षक योगेन्द्र प्रसाद यादव, मालपोत अधिकृत फडिन्द्र भट्टराई, मालपोतका नायब सुुब्बा डिल्लीराम कोइराला र खरदार श्यामप्रसाद लोको प्रत्यक्ष संलग्नता थियो । यो प्रकरणमा मालपोत र नापीका कर्मचारीले ३६ लाख रुपैया चलखेल गरेको बताइएको थियो ।

२०२७ चैत १३ गतेको नापी फिल्डबुकको कैफियतमा खगेन्द्र कुमारीको नाम भएपनि उनको मालपोतमा स्रेस्ता कायम(रजिष्ट्रेशन दर्ता) भई जग्गा धानीपुर्जा बनेको थिएन । हकवालाले दाबी गरेपछि नामसारी गर्न स्थानीय निकाय(नगरपालिका)बाट सरजिमिन मुचुल्का र सिफारिश गरेको अनिवार्य हुनुपर्छ । तर, खगेन्द्र कुमारीको कित्ता नं ३६ लाई मालपोतले स्थानीय निकायको सिफारिशविना कर्णबहादुर राईको नाममा नामसारी गरिदिएको थियो । यसरी नामसारी गर्ने निर्णय हुँदा थर विनाकी खगेन्द्र कुमारी र थर खुलेका कर्णबहादुर राईबीचको नाता सम्बन्ध स्पष्ट खुलाउने कुनै पनि आधार भने नापी र मालपोत दुवै निकायसँग थिएन ।

बषौंअघि मृत्यु भइसकेकी खगेन्द्र कुमारीको उनका छोरा भनिएका कर्णबहादुर राईले ०७० चैत १६ गते मात्र ‘राई’ थर थपेर मृत्यु दर्ता गरेका थिए । धरान १४ वडा समिति कार्यालयको अभिलेख अनुसार कर्णबहादुर राईले आमा खगेन्द्र कुमारी राईको मृत्यु २०३७ असार १५ गते भएको उल्लेख गरेका छन् । यस्तै, ०७१ बैशाख ५ गते धरान उपमहानगरपालिकाबाट बुबा रामबहादुर राई र आमा खगेन्द्रकुमारी राईसँग छोराको नाता प्रमाणित गराएका छन् । तर, फिल्डबुकको कैफियतमा नाम उल्लेख भएकी ‘खगेन्द्र कमारी’सँगको नाता खुलेको कुनै प्रमाण भने कर्णबहादुर राईसँग थिएन ।

नापीका सर्वेक्षक योगेन्द्रप्रसाद यादवले स्थलगत सरर्जमिन गराएर हचुवाको भरमा ‘उक्त कित्ताको जग्गा धनी प्रमाणपुर्जा दिइएमा फरक नपर्ने’ भनि प्रतिवेदन दिएका थिए । २०७२ मंसिर ९ गते नापीको सर्वेक्षक यादवले हतार हतारमा स्थलगत सर्जमिन मुचुल्का गरेर त्यसै दिन प्रतिवेदनसमेत तयार गरी मालपोत कार्यालयलाई पठाएका थिए । यादवले उठाएको सर्जमिनको अन्त्यमा मंसिर ९ गते भनेर हस्ताक्षर गरेका छन् तर पहिलो पेजमा भने अक्षरमा मंसिर आठ गते भनेर फरक रंगको मसीले मिति थपिएको छ । यादवले बुझाएको प्रतिवेदनको आधारमा स्थानीय निकायको सर्जमिन मुचुल्का एवं सिफारशको आवश्यकता महसुस नगरी २०७२ पुष २ गते मालपोतका अधिकृत फडिन्द्र भट्टराई, मुद्दा फाटका नायब सुब्बा डिल्लीराम कोइराला र मोठका खरदर श्यामप्रसाद ल्होको बैठकले कर्णबहादुर राईको नाममा श्रेस्ता कायम(कार्यान्वयन) गर्ने निर्णय गरेका छन् । नापीको फिल्डबुकमा भने २०७३ जेठ १३ गतेमात्र नामसारी कायम भएको उल्लेख गरिएको छ ।

कित्ता नं ३६ कर्णबहादुर राईको नाममा नामसारी भएर आएको करिब तीन सातापछि नै कित्ता फोड भई तीन जनाको नाममा उक्त जग्गा बिक्री भएको देखिन्छ । मालपोतका अनुसार पुष २३ गते कर्णबहादुरले इनरुवा १ का सुरेश पोद्दारलाई १ कट्टा, धरान १५ की सिता योङयालाई ८ कट्टा १० धुर र सीता कार्कीलाई १ कट्टा १५ धुर जमिन बिक्री गरेका थिए । कित्ता नं ४२१ को पोद्दारको जग्गा यथावत छ भने हालसम्म धरान १० का रमेशबाबु श्रेष्ठको नाममा १ कट्टा १५ धुर(कित्ता नं ४२२), अमाहीवेला गाविस ७ सुनसरीकी सरिता ओलीको नाममा ३ कट्टा(कित्ता नं ४२४) र काभ्रेपलाञ्चोक काशीखण्ड नपा १२ की मिनु श्रेष्ठको नाममा ५ कट्टा १० धुर(कित्ता नं ४२५) कायम रहेको देखिन्छ । जालसाझी गरी कर्णबहादुर राईले जग्गा नामसारी गरेको भनि सुनसरी जिल्ला अदालतमा मुद्दा परेपछि अदालतको आदेशमा हाल यी सबै जग्गा रोक्का छ ।