इटहरी: इटहरी २ बरगाछी चौकनजिकै रहेको सडक कालोपत्रे गर्ने क्रममा गुणस्तरहिन काम गरेको भन्दै यहाँका बासिन्दा आक्रोशित भएर सडकमा उत्रिएका छन् ।

स्थानीय दीपेन्द्र घिमिरेका अनुसार यहाँको १३०० मिटर सडक कालोपत्रे गर्नका लागि इटहरी उपमहानगरपालिकाको मातहतमा प्रदेश सरकारबाट १ करोड ३० लाख रुपैँया बजेट आएको थियो । सोही बजेटमार्फत कालोपत्रे गर्न लागिएको भएपनि सडकको झार समेत नउखाली पिच गर्न लागिएपछि आँफूहरु सडकमा उत्रिन बाध्य भएको उनको भनाई थियो । ‘यहाँ झार पनि नउप्काईकन कालोपत्रे गर्न खोजियो, हामीले यस्तोमा काम गर्न हुँदैन भन्यौँ,’उनले आक्रोश पोख्दै भने,‘कालोपत्रे गर्नका लागि रोलर पनि नलगाई गर्ने ठेकेदारको कुरा छ, ठेकेदारलाई बोलाएर कुरा गर्दा यस्तैमा काम गर्ने सम्झौता भएको छ भन्दै उनले पन्छिने काम गरे ।’

road-1

घिमिरेले आफूहरुको माग काम राम्रो गर्नुपर्ने रहेको सुनाए । उनले फिल क्लियरेन्स नै नगरी जस्तो छ, त्यस्तैमा पिच गर्न खोजिएकोप्रति आपत्ती जनाए । ‘मिलेमतोमा काम भएर कम पैसामा बनाउनु पर्छ भन्ने सेटिङ भएको छ जस्तो छ,’उनले आक्रोशित हुँदै कपुरीसँग भने,‘नभए जनतालाई चाहिने बाटो हो, जनताले राम्रो काम गर्नुपर्छ भन्दा किन हुँदैन ? हामी कसका लागि आक्रोश भएर सडकमा आउनु पर्ने ?’ उनले स्थानीय प्रशाशन र ठेकेदारले मिलेर कम लागतमा चाँडै बाटो निर्माण गर्न लागेको आरोप समेत लगाए ।
त्यस्तै, स्थानीय लिलानाथ बरालले पनि सडकमा झार उम्रिएको भएपनि सोही माथि पिचको बेस बसाउने गिटी झार्ने काम भईरहेको बताए । ‘पहिला रोलरले पेलेर गिटी झार्नुपर्ने थियो, ज्यादै गुणस्तरहीन काम गर्न खोजियो,’उनले भने,‘हाम्रो माग भनेको दीर्घकालिनसम्मका लागि बाटो बन्नुपर्छ भन्ने हो ।’ उनले आँफूहरुका लागि बाटो बनेको भन्दै गुणस्तरीय र दीर्घकालिन रुपमा बिकास निर्माण हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, स्थानीय महिला बिमला भुजेलले पनि झारपात हुँदा त्यहिँ माथि पिच गर्न लागेकोप्रति आक्रोश व्यक्त गरिन् । उनले भनिन्,‘अलिक अगाडि उनीहरु (ठेकेदार) आएर उपभोक्ताले आँफै तानेर झार निकाल्ने पो भने । यो बाटो धेरै दिन टिक्दैन यसो छारो मात्र हालेको होला ।’ भुजेलले यहाँका बासिन्दाले झार तानेर बाटोमा लगाएको आरोप लगाएको बताउँदै स्थानीय मानिसहरुले पनि बाटो निर्माणका लागि पैसा तिर्नुपरेको बताईन् । ‘अहिलेसम्म ७, ८ हजार रुपैँया तिर्नुपर्यो राम्रो काम पनि गर्दैनन्,’उनले भनिन् । प्रदेश सरकारले दिएको बजेट अपुग हुने भनेपछि स्थानीय उपभोक्ताले पनि सडक कालोपत्रे गर्नका लागि रकम संकलन गरेको उनको भनाई थियो । उक्त निर्माण भईरहेको सडक ३० फुटे हो । सुरुमा ८०० फुट मात्रै निर्माण गर्ने भनिएको भएपनि अहिले १३०० फुट सडक निर्माण गर्नका लागि ठेक्का लागेको स्थानीयले बताएका छन् । करिब तीन महिना अगाडि नै काम गर्नका लागि ठेक्का लागेको थियो । समयमा काम सुरु नभएको र अहिले काम शुरु गर्न खोजिएपनि झारपात माथि नै पिच गर्नुले गुणस्तरहिन काम भएको स्थानीयको भनाई छ ।

Untitled-2 4

यता इटहरी २ का वडाध्यक्ष हर्क मगरले उपभोक्ताको काम मिसगिटी हाल्ने भएको र ठेकेदारसँग फोरुवा गिटी लगाउने र पिँच गर्ने सम्झौता भएको बताए । उनले भने, ‘त्यो बिन्दबासिनि कम्पनीसँग टेन्डरमा ठेक्का लागेको हो, अहिले कटिङ गरेको होला ।’ उनले ड्रेनको छेउछेउमा मिसिन चलाउँदा ड्रेन भत्किने भएकाले उपभोक्ता आँफैले मिसगिटी हाल्ने र झार उप्काउनु पर्ने बताए । ‘पहिला उपभोक्ता समिति गठन गरेर पैसा नै उठाएको छ,’ उनले भने,‘झार हटाउने काम उपभोक्ताको हो, यर्थाथ कुरो बुझ्नुपर्यो नि, साथीहरुको हल्ला मात्र हो ।’ उनका अनुसार टेन्डर लागेको बाटोमा कम्पनीले पिँच मात्र गर्ने र अन्य काम उपभोक्ताले गर्नुपर्ने बताए ।