धरान: धरान बजारको सुन्दरता बढाउन र धरान घुम्न आउने पर्यटकहरुलाई आकर्षित गर्न भन्दै धरान उपमहानगरपालिकाले गत आर्थिक बर्षमा भानुचोकदेखि छाताचोकसम्म रेलिङसहित गमलामा फुल रोप्ने योजना ल्याएको थियो ।

गत आर्थिक बर्षमा रत्न रोडसम्म रेलिङ र गमलाको फुल रोपेको उपमहानगरले यसपाली पनि योजनामा राखेर छाताचोकसम्म रेलिङ विस्तारको काम गरिरहेको छ । विडम्बना चाहि के छ भने छाताचोकतर्फ रेलिङ विस्तार र गमलामा फुल रोप्ने योजना पुरा नहुदै अहिले भानुचोक मास्तिरको गमला र फुलको अवस्था हरिविजोग छ । रेलिङसँगै राखिएको सिमेन्टको गमला अधिकांश हराइसकेको छ भने भएको केही सिमेन्टको गमलामा पनि फुल सुकेर मरिसकेका छन् । ती गमलाको सुरक्षा र फुलको स्याहार कस्ले गर्ने ? न योजना ल्याउनेहरुले यसतर्फ सोचको देखियो, न जनप्रतिनिधिहरुले नै आवश्यक योजना बनाएको देखियो ।

raling

आज फेरि गमलाको फुल सामाजिक सञ्जाल र अनलाइन मिडियामा भाइरल बनेको छ । रेलिङमा फुल रोपेर झुण्ड्याइएको प्लष्टिकको गमलामा टमटर उम्रिएर फलेको पनि छ । यो फोटो धरानकी पत्रकार मनिता चाम्लिङले सामाजिक सञ्जाल फेसबुकमा राखेपछि एकाएक भाइरल बन्यो, र समाचारको बिषय पनि भयो । जनताले तिरेको करबाट लाखौं खर्चिएर योजना बनाएपछि त्यसलाई दीर्घकालिनरुपमा कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ उपमहानगरपालिका, जनप्रतिनिधिहरु कसैले पनि सोचेको देखिएन । नगरबासीहरुले यहीकुरामा आलोचना र टिकाटिप्पणी गरिरहेका छन् ।

हुन त यो योजना शुरुवातदेखि नै विवादमा पर्दै आएको थियो । शुरुवातमा ६ लेन सडक बजार भएर विस्तार हुदा वा वाइपास हुदा पनि फराकिलो गर्ने पर्ने सडकमा अनावश्यक बजेट लगाएको भन्दै आलोचना र टिकाटिप्पणी भएको थियो । गत आर्थिक बर्षमा नै गमलाको रोपिएको फुललाई झार उम्रिएर छोपेपछि फुल रोपेको कि घाँस भनेर चर्को आलोचना भयो । त्यसबेला विभिन्न सामाजिक संघसंस्थाहरुले सफाइ कार्यक्रम गरेर गोडमेल गरेका थिए । त्यसपछि पनि रेलिङमा राखिने गमला र त्यसमा रोपिने फुलको सुरक्षा, गोडमेल एवं व्यवस्थानबारे उपमहानगरपालिका, जनप्रतिनिधिले ध्यान दिएको दैखिदैन ।