कोलम्बो : श्रीलंका सरकारले गत आइतबार भएका शृंखलाबद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या घटाएको छ । सरकारले मृतकको संख्या १०० भन्दा बढी घटाउँदै २५३ मात्र रहेको जनाएको हो ।

श्रीलंकाको स्वास्थ्य मन्त्रालयले विस्फोटमा परेर मृत्यु हुनेको संख्या गणनामा त्रुटि भएको भन्दै लगभग २५३ जनाको मात्र मृत्यु भएको जनाएको हो ।

श्रीलंकाको राजधानी कोलम्बो र पूर्वी शहर बट्टीकालोआमा आत्मघाती हमलाकारीले होटल तथा चर्चलाई निशाना बनाएर आक्रमण गरेका थिए । विस्फोटमा सयौं मानिस घाइते भएका थिए ।

आक्रमणमा पर्नेहरु अधिकांश श्रीलंकाका नागरिक थिए । केही विदेशी नागरिकको समेत मृत्यु भएको थियो । श्रीलंकामा ९ वटा विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले ७० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।

यसैबीच प्रहरीले विस्फोटमा संलग्न भएका ९ जनाको फोटो सार्वजनिक गरेको छ । तीमध्ये आठ हमलाकारी श्रीलंकाली नागरिक नै भएको दाबी अधिकारीहरुले गरेका छन् । विस्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको छ । सरकारले यसबारेमा छानबिन भइरहेको जनाएको छ ।