धरान: आठौं राष्ट्रिय खेलकुद अन्र्तगतको गल्फ खेलमा प्रदेश नं १ लाई स्वर्ण पदक दिलाउन सफल धरानका खेलाडीहरु आज सम्मानित भएका छन् ।

धरान उपमहानगरपालिका वडा नं १९ वडा कार्यालयले बालमैत्री वडा घोषणा कार्यक्रममा खेलाडीहरुलाई सम्मान गरेको हो । गल्फ खेलमा शुक्रबहादु राई, बविन्द्र राई र निरज तामाङले प्रदेश नं १ लाई स्वर्ण पदक दिलाएका थिए । कार्यक्रममा तीन खेलाडीसहित टिम व्यवस्थापक जितेन्द्र राई पनि सम्मान गरिएको थियो । चारै जना धराने हुन् ।

चारैजनालाई प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले नगद र सम्मान पत्र प्रदान गरेका थिए । चारै जनालाई नगद ५ हजारसहित पुरस्कृत गरिएको थियो । खेलाडीहरुले काठमाडौंका गोकर्ण रिसोर्ट गल्फ कोर्षमा भएको प्रतियोगितामा प्रदेश नम्बर १ लाई स्वर्ण दिलाएका थिए । वडा १९ का अध्यक्ष पुर्ण लिम्बूले धराने खेलाडीहरुले प्रदेश १ लाई स्वर्ण दिलाएर धरान र प्रदेशकै गौरव बढाएकोले पुरस्कृत गरिएको बताए । खेलाडी तथा टिम व्यवस्थापकले सम्मान तथा पुरस्कारले हौसला मिलेको प्रतिक्रिया दिए ।