इटहरी : इटहरी उपमहानगरपालिकामा लागुऔषध ओसार पसार गर्नेको संख्यामा वृद्धि भएको छ । ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार गत श्रावण यता मात्रै पनि ३५ वटा मुद्धा दर्ता हुँदा ४५ जना लागुऔषध प्रयोग गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

‘३५ वटा मुद्धा दर्ता गर्दा ४५ जना प्रतिबादी पक्राउ परे,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईँले भने, ‘हामीले विभिन्न निकायसँग समन्वय र सहकार्य गरी अहिले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएका छौँ ।’ गत १० महिनायता ईलाका प्रहरी कार्यालयको तथ्याङ्कमा लागुऔषध कारोबारी गर्ने १५ जना पूर्पक्षमा जेल चलान भएका छन् । १६ जना धरौटीमा रिहा भएका छन् भने ३ जना तीन–तीन हजार जरिवाना सहित रिहा भएका छन् । बाँकी ११ जनाको अझै पनि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक चौलागाईँ बताउँछन् ।

सामाजिक सञ्जालको दुरुपयोग सँगै फोनको माध्यमबाट लागुऔषध ओसार पसार हुने गरेको बताउँदै उनले भने, ‘इटहरीमा यस्ता पनि लागुऔषध गर्ने मान्छे छन्, जसले लागुऔषध स्टक गरेर राख्दैन, तर चाहिएको जुनसुकै बेला पनि उस्ले फोनको माध्यमबाट लागुऔषध झिकाउन सक्छ ।’ उनले आँफूहरु यसको न्यूनिकरणमा लागेको दाबी गरे । ‘हामीले त्यस्ता मानिसहरुलाई इन्भेष्टिकेसन गरिरहेका छौँ, जसले लागुऔषध निर्मूल पार्न सहयोग पुग्छ’–उनी भन्छन् ।

प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलका अनुसार लागुऔषध ओसार पसार भारतबाट हुने गरेको छ । ‘पूर्वी नेपालको काकडभिट्टा, जोगबनी नाका मात्रै नभएर भण्टाबारीबाट पनि लागुऔषध ओसार पसार गर्ने गरेका छन्,’ उनी भन्छन्, ‘लागुऔषध कारोबारी गर्ने मानिसले अनेक उपाय लगायँछन्, विशेषगरी फोनको माध्यमबाट डाईरेक्ट कन्ट्याक भएर लागुऔषध झिकाउने गरेको तथ्याङ्क छ ।’ प्रहरी नायव उपरीक्षक खरेलका अनुसार अहिले प्रहरीले सामूदायिक साझेदारी प्रहरी अन्तर्गत विभिन्न विद्यालय र समूदायमा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ । ‘हामीले सम्बन्धित निकायसँग सहकार्य गरी अहिले स्कूल र समूदायमा व्यापक रुपमा सचेतना फैलाउँदै आएका छौँ ।’ उनले कपुरीसँग भने । प्रहरीले पछिल्लो एक महिनायता प्रहरीले सामूदायिक प्रहरी सचेतना कार्यक्रमको माध्यमबाट स्कूले विद्यार्थीलाई चेतना गराएको उनले सुनाए । उनका अनुसार विद्यालय जाने भनेर घरबाट हिड्ने भएपनि साथीको संगतमा लागुऔषध प्रयोजनमा फस्दै गएका युवा लक्षित कार्यक्रमको आयोजना गर्दै जानेमा खरेलको जोड छ ।