इटहरी : एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोराछोरी सुतिरहेका छन् । १४ देखि २८ वर्षसम्मका उनीहरु कोहि पनि आँखा देख्न सक्दैनन् । कान्छो छोरो बाहेक कोहि पनि बोल्न समेत सक्दैनन् । उठेर हिडन त परै जाओस, बस्न पनि सक्दैनन । अलिअलि मात्र आँखा देख्न सक्ने कान्छोछोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ ।

शुक्रबार साँझ साढे पाँच बजे इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सहित सामाजिक विकास महाशाखाको टोली इटहरी २ स्थित लक्ष्मण तामाङको घर पुग्यो । लक्ष्मण तामाङकी जेठी छोरी अस्मिता, जेठो छोरा सरोज, कान्छी छोरी सुस्मिता र कान्छो छोरा सन्दीपलाई पूर्ण अपांगता भएको रातोकार्ड वितरण गर्न उपमेयर गौतम सहितको टोली त्यहाँ गएको हो । रातोकार्ड पाएपछि मासिक दुइहजार रकम पाउने प्रावधान छ ।

देउता सम्झेर सहयोग गरौँ

एकैपरिवारका चारै जना सन्तानको त्यो अवस्था देखेर उपमेयर गौतमले उनीहरुलाई सहयोगका लागि सम्बन्धित सबैसँग अपिल गरिन् । उनले भने, “एकै परिवारको यस्तो अवस्था विरलैको हुन्छ यि सन्तानलाई भगवान सम्झेर सहयोग गरौँ ।” इटहरी उपमहानगरले सक्ने सहयोग गर्ने बताउदै यो परिवारलाई सहयोग गर्न उनले सरोकारवाला सबैलाई आग्रह गरिन् ।

यो भन्दा गाहो के हुन्छ र ?

१४ देखि २८ वर्षसम्मका चारै जना छोराछोरी जो आँखा देख्दैनन्, बोल्न सक्दैनन्, जीउ लल्याकलुलुक छ उठेर बस्न सक्दैनन् । दिशा पिसाव पनि सुतेकै ठाँउमा गराउनुपर्छ । नुहाउने, धुवाउने, खुवाउने, सरफाईमा तामाङ दम्पति अहोरात्र खटनुपर्छ । आमा जसमायाले भनिन्, “रातभर सुत्न पनि पाइदैन, पालोपालो रेखदेख गर्छौ । मेरो अरु केहि काम छैन यिनै छोराछोरीलाई भगवान ठानेर स्याहार सुसार गरिरहेकी छु ।” बुबा लक्ष्मण सेवा निवृत नेपाली सेना हुनुहुन्छ । उनको पेन्सनबाट आउने रकमले जेनतेन परिवार धानिरहेको छ । उनी भन्छिन्, यो भन्दा गाह्रो के हुन्छ होला र ?
सात वर्ष सम्म सबै ठीक
बुबा लक्ष्मणका अनुसार चारै जना सन्तान सात वर्षको हुन्जेलसम्म पूर्ण स्वस्थ थिए । जव सात बर्ष पुगे विस्तारै आँखा देख्न छाडेर पूरै देख्न छाडे । बोल्न पनि नसक्ने भए । जीउ लुलो हँुदै गयो । उठन पनि नसक्ने भए ।