धरान : धरानबाट सञ्चालित मितेरी विकास बैंकले सुनसरीको बराहक्षेत्र–१० प्रकाशपुरमा आफ्नो शाखा विस्तार गर्ने भएको छ ।

भोली शनिबारबाट मितेरीले १८ औं शाखाको रुपमा प्रकाशपुरमा सेवा दिने भएको हो । शाखाको भोली उद्घाटन हुने शुक्रबारको पत्रकार सम्मेलनमा बैकका कार्यकारी प्रमुख (सिइओ) तुलसी प्रसाद वस्तीले बताए । बैकीङ सेवाबाट बञ्चित भएका ग्रामिण क्षेत्रका जनतालाई बैकिङ सेवा प्रवाह गर्ने उद्देश्यले नै शाखा विस्तार गर्न लागेको बैकका सञ्चालक समितिका अध्यक्ष किशन मास्केले बताए । ‘मितेरीको फोकस भनेको ग्रामिण क्षेत्रमा बैकीङ सुविधा दिने हो’ अध्यक्ष मास्केले भन,े ‘प्रकाशपुरमा पनि सहकारी संस्था धेरै छ तर, बैकिङ सुविधा छैन त्यसैले पनि हामीले हाम्रो १८ औं शाखा सञ्चालनमा ल्याउन लागेका हौ’ । १७ औं शाखा मोरङको दुलारीमा खोल्न लागेको समेत सुनाए । औपचारिक उद्घाटन हुन बाँकी रहेको बताए । मितेरीले हालसम्म विस्तार गरेका शाखाहरु धेरै जसो ग्रामिण क्षेत्र रहेको समेत बताए । मितेरीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रकाशपुरको प्रकाशपुर उच्च माविलाई स्मार्ट कक्षा सञ्चालनको लागि निःशुल्क १–१ थान ल्यापटक र प्रोजेक्टर समेत भोली नै प्रदान गरिने उनको भनाई थियो । गरिब तथा जेहेन्दार विद्यार्थीको छात्रबृति उपलब्ध गराउने समेत उनले बताए ।

प्रकाशपुरबासीको लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना

सोही अवसरमा रोटरी क्लव अफ धरान घोपा, रोट्रयाक्ट क्लव अफ धरान घोपा र मितेरी विकास बैकको आयोजनामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा ‘सु–स्वास्थ्य बृहत स्वास्थ्य शिविर’ समेत आयोजना गरीने भएको छ ।
प्रकाशपुरको प्रकाशपुर उच्च मावि परिषरमा हुने शिविर विहान ९ बजेदेखि शुरु हुने बताइएको छ । प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गर्ने राट्रयाक्ट क्लव अफ धरान घोपाका प्रेसिडेन्ट विवेक मेहेताले बताए । उनका अनुसार शिविरमा हाडजोर्नी, दन्त, स्त्री तथा महिला, नाक, कान, घाटी, मानसिक रोग, बाल रोग र सामान्य सल्यक्रियालगायतका सेवा प्रदान गरिने छ । ‘आँखाको बाहेक सबै विशेषज्ञ सेवा दिने छौं, त्यसको लागि अस्पतालमा जस्तै छुट्टा–छुट्टै चेकजाँच गर्ने व्यवस्था मिलाएका छौं’–उनले भने, ‘माइनर अप्रेसन र पाठेघरको मुखको क्यान्सरको जाँच हुन्छ’ । शिविरमा ब्लड गु्रपिङ, ग्वकोज जाँच, भिडियो एक्स–रे, इसिजीलगायतका सेवाहरु दिइने कार्यक्रमका मुख्य संयोजक रोटरियन इन्दीरा बस्नेतले बताइन् । चेकजाँच पछि चिकित्सकको सल्लाहअनुसार निःशुल्क औषधि समेत वितरण गरिने जनाइएको छ । शिविरमा करिब १ हजार जनालाई सेवा दिने तयारी रहेको उनले बताए । तर, ८ सय भन्दामाथीले सेवा लिने समेत बताए । जसको लागि विशेषज्ञ तथा जुनियर रेजिडेन्टसहित नर्स र प्राविधिक गरी ७० देखि ७५ जनाको टोली हुने समेत बताए । स्वास्थ्य शिक्षा बारेमा सचेतना कार्यक्रम समेत गरिने रोटरी क्लव अफ धरान घोपाका अध्यक्ष मुकेश अग्रवालले बताए । मितेरीले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गदै आएको बैकका सिइओ तुलसी प्रसाद वस्तीले बताए ।