झापा : धरान फुटबल क्लब संर्घषपूर्ण जित निकाल्दै झापाको काँकरभिट्टामा जारी चौथो मेचीनगर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । च्यासल युथ क्लब काठमाडौंलाई १—० गोलअन्तरले पराजित गर्दै धरानले अघिल्लो चरणको यात्रा कायमै राखेको हो ।

काँकरभिट्टा माविको खेलमैदान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा धरानका मिलन राईले गरेको एक मात्रै गोल निर्णयक बन्यो । मिलन राईले खेलको दोस्रो हाफको ३५ औँ मिनेट वान भर्सेस वानको स्थितीमा गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता मिलन राई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । शनिवारको खेल आयोजक मेची नेत्रालय फुटबल ट्रनिङ सेन्टर काँकरभिट्टा संकटा क्लब काठमाडौँ बीच हुने आयोजक समितिका अध्यक्ष मिनबहादुर बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।