उनी जन्मदै संसार अध्यारो थियो । दुवै आँखामा उज्यालो भएन । जन्म दिने आमा बुबा पछिसम्म पनि उनको भविष्यबारे चिन्ता गरिरहन्थे । त्यो कुराले उनको मनमा पनि काँडा बनेर बिझिरहन्थ्यो । ‘म किन यस्तो भए ?,’पछिसम्म पनि उनलाई यस्तै लाग्थ्यो ।

संखुवासभाको पुरानो चैनपुरमा जन्मिएका यी गगन आले मगर अहिले उनी १५ बर्षका भए । विगतमा जस्तो ‘म किन यस्तो भए ?’ भन्ने प्रश्न र हिनताबोध अहिले उनमा छैन । उनले बाहिरी आँखा नदेखेर के भो त ? भित्री आँखाले उनी संसार चियाउछन् । बाहिरी उज्यालो नदेखेर के भो ? उनीसँग भित्री उज्यालो छ । बाहिरी उज्यालो र संसार देख्नेहरुभन्दा उनमा कयौं प्रतिभा छ, कला छ । ‘पहिला चै किन यस्तो भए भन्ने लाग्थ्यो, अहिले त कमजोर छु भन्ने महसुसै हुदैन,’आत्मविश्वास भरिएको स्वरमा गगनले भने ।

सानैदेखि गगन धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा ब्रेल लिपी पढ्न आए । अहिले उनी कक्षा १० मा पढ्छन् । पढाईमा उनी मेधावी विद्यार्थी छन् । एक पटक दोस्रो(शिशु कक्षा) भएबाहेक निरन्तर कक्षामा पहिलो नै आएका छन् । पढाईमा अब्बल रहेका गगन पुर्वाञ्चल ज्ञान चक्षुका प्रतिभाशाली विद्यार्थीमा पर्छन् । उनले आफ्नो गायन कला एवं प्रतिभाले सबैलाई कायल बनाएका छन् ।

gaaUntitled-1

धरानको थुप्रै कार्यक्रमहरुमा गगनले आफ्नो गायन कला प्रस्तुत गरिसकेका छन् । अधिकांश कार्यक्रममा उनले भक्तराज आचार्यको जहाँ छन् बुद्धका आँखा..बोलको गीत गाउछन् । यो गीत उनलाई निक्कै प्रिय लाग्छ । हुन त उनी सबै प्रकारको गीत सुन्न र गाउन मन पराउछन् । ‘बिशेष गरी चलचित्रको प्रेम गीत र देशभक्ति गीत मन पराउछुँ,’उनले भने,‘मनपर्ने गायक चै स्वरुपराज आचार्य हो ।’

उनले स्टेज प्रस्तुती मात्र दिएका छैनन्, स्रोत केन्द्रस्तरीय, जिल्ला स्तरीय गायन प्रतियोगितामा प्रथम हुदै पुर्वाञ्चल क्षेत्रस्तरीयमा पनि प्रथम पुरस्कार जितिसकेका छन् । गायनसँगै उनी बाँसुरी, गितार, हार्मोनियम, किबोर्ड, ड्रम पनि बजाउछन् । विद्यालयकै सिनियर दाईहरुबाट उनले बजाउने प्रेरणा पाएर सिकेका हुन् । उनको वाक कला पनि राम्रो छ । जिल्ला र क्षेत्रीयस्तरको थुप्रै वादविवाद प्रतियोगिताहरु पनि जितेका छन् । विद्यालयको बाल क्लबका अध्यक्ष पनि छन् गगन ।

बुबाको कारण गीत, संगीतमा रुची

Gagan-ale-singing

गगनले गाउने प्रेरणा आफै बुबाबाट पाएका हुन् । भारतीय सेनामा कार्यरत बुबाले गगन सानो उमेरमा रुदा गीत गाइदिएर फकाउने गर्थे । त्यो बेला बुबाले उनलाई स्वर्गीय गायक खेमराज गुरुङको चर्चित गीत वारी जमुना पारी जमुना..गाइदिन्थे । छोरालाई फकाउन, भुलाउन बुबाले गाइदिदा त्यसको प्रभाव छोरा गगनमा पथ्र्यो । ‘बुबाले गाउनु भएको त्यो गीत मलाई कण्ठै छ । बुबाकै कारण मलाई गीत, संगीतमा रुचि बढ्यो,’गगन भन्छन् ।

पछि उनले अरुको गीत सुन्ने र आफै गाउन थाले । करिब ९ बर्षको उमेर हुदा उनी राम्रो गाउन थालिसकेका थिए । कक्षा ५ मा पढ्दा संगीत सिकेका सिनियर दाई(विद्यार्थी) डिल्लीराम दुलालले उनलाई स्वर अभ्यास र रागहरु सिकाइदिए । यसले उनको गायन कलालाई राम्रो बनायो । विद्यालयकै संगीत शिक्षक सन्दीप प्रधानबाट पनि उनले धेरै ज्ञान पाए । शिक्षक प्रधानकै स्डुडियोमा उनले ब्रायन आडम्सको एभ्रीथिङ आइ डु बोलको कभर गीत पनि रेडर्क गराए ।

गगन भविष्यमा गीत, संगीत क्षेत्रमा नै निरन्तर लागेर राम्रो गायक बन्न चाहन्छन् । उनलाई मन पर्ने अर्को क्षेत्र पनि छ, रेडियो जक्की(आरजे) । उनी भन्छन्,‘म राम्रो कलाकार(गायक) बन्न चाहन्छु । र, मलाई मन पर्ने अर्को क्षेत्र पनि छ, आरजे । आरजे पनि हुनचाहन्छुँ ।’

तस्बिर सौजन्य: प्रेम शाक्य,डिजिटल फोटो स्टिुडियो