धरान:नेपालमा धेरै राजनीतिक परिवर्तन भए, सामाजिक अभियानहरु चले तर अझै पनि नेपाली समाजको सोचमा परिवर्तन आउन सकेको छैन । जातीय भेदभाव, कथित पानी चल्ने र नचल्ने जाति भन्ने सोच र कुसँस्कारले नेपाली समाजलाई अझै जकडेकै छ ।

बेला बेला कथित दलित भनिएका व्यक्तिहरुलाई कुटपिट भएको, भेदभाव भएको घटनाहरु सार्वजनिक भइरहेकै छन् । यसले नेपाली समाजमा अझै पनि पुरातन सोचमा परिवर्तन आउन बाँकी छ भन्ने देखिन्छ । सामान्ती सोचको अवशेषहरु अझै बाँकी छन् भन्ने देखाउछ । कानुनले पनि जातीय भेदभाव र छुवाछुतलाई अपराध मानिसकेको छ, तर मानिसको व्यवहार र सोचमा पुर्ण परिवर्तन आउन सकेको छैन । त्यही पुरातन सोचले गर्दा नै मानिस मानिसमा भेदभाव छदैछ । आखिर जातमा के छ ? यो त उहिल्यै कर्मको आधारमा गरिएको वर्गीकरण न थियो । तर, पछि यसैलाई उच्च र तल्लो जाति बनाइयो । कथित दलित भनियो ।

धरानजस्तो सभ्य, शिक्षित र आधुनिक सहरमा त कथित दलित र गैरदलित भनिएका जातिका युवायुवतीबीच प्रेम विवाह गरेपनि उमेर नपुगेको वा यस्तै अन्य केही बहानामा जर्बजस्ती छुटाउने गरिएको घटनाहरु अहिले पनि छ । जति नै परिवर्तन र आदर्शको नारा लगाएपनि नेपाली समाजले कथित दलित युवा वा युवतीसँग विवाह गर्दा सहर्ष स्वीकार गरेको पाइदैन । जसले गर्दा दलित परिवारका युवा वा युवती विवाह गरेका परिवारले अनेक चुनौतीको सामना गर्नुपर्ने हुन्छ । तर, यस्ता चुनौतीहरुलाई सहजरुपमा स्वीकार्दै धरानमा एक किराती राई परिवारले कथित दलित परिवारकी बुहारीलाई स्वीकार गरेका छन् ।

bhim-dai

हाल धरान १३ मा बसोबास गरिरहेका नविन राईले धरान १५ का सुस्मा कालिकोटेसँग प्रेम विवाह गरेका हुन् । दुवै परिवारले उनीहरुको विवाहलाई सहर्ष स्वीकार गरेका छन् । त्यति मात्र होइन, सँस्कार अनुसार नविनको परिवारले हिजो शुक्रबार चोरको सोर पनि सुस्माको घरमा लगेर बुझाइसकेको छ । नविन पत्रकार एवं मजदुर नेता भिम राई ज्वालाका कान्छा भाई हुन् । नेता भिम धरानबाट प्रकाशित औजार दैनिकका प्रधान सम्पादक हुन् भने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष पनि हुन् । कान्छा भाईले विश्वकर्मा जातिभित्र पर्ने कालिकोटे थरकी बुहारी ल्याएपछि उनी आफै श्रीमति, माइलो भाई र साथीभाईसहित चोरको सोर बुझाउन गएका थिए । वर्गीय विभेद अन्त्यको कुरा गर्ने उनले त्यसलाई साच्चै नै व्यवहारमा पनि देखाए । अहिले उनको यही कदमको सामाजिक सञ्जालमा प्रशंसा गरिरहेका छन् ।

IMG_20190426_200426

'समानताको लागि सोच मात्रै परिवर्तन भए सम्भव छ, नभए जस्तो सुकै नारा लगाए पनि उही हो,उदाहरण नविन राई र सुस्मा कालिकोटे बैनीको जोडीलाई सहर्ष स्वीकार्दै..'नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव दिनेश गजमेरले नवजोडीको फोटो पोष्ट गर्दै लेखेका छन् । यस्तै, अर्का पत्रकार रणध्वज लोहारले पनि जातको घमण्ड गर्ने र छुवाछुत गर्नेहरुलाई यो विवाह उदाहरणीय बनेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘अहिले पनि मानव सोचाई फराकिलो बन्न सकेको छैन, दलित र गैरदलितबीच मागी विवाह त के ? केटा र केटीबीच मन परापर भएर विवाह गर्दा समेत स्वीकार गर्दैन । विवाहकै कारण आज कि त विस्थापित हुनुपरेको छ भने असफल पनि भएका छन् । तर धरानमा यस्तो परिवार जो समाजको लागि अनुकरणीय परिवार बनेको छ,’पत्रकार लोहारले लेखेका छन् ।