धरान: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वालाले मजदुरहरु राज्यको सुचीकरणमा नपरेमा राज्यले ल्याएको सामाजिक सुरक्षाको सुविधा उपभोग गर्नबाट बञ्चित हुनुपर्ने बताएका छन् ।

शनिबार संगठनको धरान उपमहानगर कमिटिको १३ औं अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले यो कुरा बताएका हुन् । उनले यातायात मजदुरहरु राज्यको सुचिकरणमा पर्न सिण्डिकेट प्रणालीको अन्त्य भएर यातायात क्षेत्र प्रालिमा अनिवार्यरुपमा जानै पर्ने पनि उनले बताए । नेता राईका अनुसार नेपाल सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको लागि ऐन ल्याएको छ । तर, यो ऐनअनुसारको सुविधाबाट ९५ प्रतिशत अनौपचारिक क्षेत्रको मजदुरहरु बञ्चित अवस्थामा रहेको उनले बताए ।

‘यसको लागि न्युनतम १३ हजार ४ सय तलब पाउने मजदुर हुनुपर्छ । र, मजदुरहरु राज्यको सुचीकरणमा हुनुपर्छ भनिएको छ । त्यसपछि मात्र हाम्रो पनि १ प्रतिशत मात्र योगदान हुन्छ,’राईले भने,‘तर सुचीकरण हुन नसकिए हामीले योगदान दिन सक्दैनौ र राज्यले दिएको सेवा, सुविधा उपभोग गर्नबाट बञ्चित हुन्छौ ।’
नेता राईका अनुसार यातायात व्यवसायीहरु प्रालिमा परिणत हुदा त्यहाँ कार्यरत चालक, सहचालक, बुकिङलगायत मजदुरहरु राज्यको सुचीकरणमा पर्ने बताए । ‘हामीले निरन्तररुपमा मजदुरहरुलाई नियुक्ती पन र सञ्चयकोष हुनुपर्छ भनेका छौ, अब उद्योग, कलकारखानामा काम गर्ने मजदुरहरुले सामाजिक सुरक्षामा योगदान गर्दैछ, हामी यातायात मजदुरहरु पनि योगदान गर्न इच्छुक छौ,’अध्यक्ष राईले भने ।

उनले यातायात व्यवसायीहरुले गैरनाफामुलक भनेर दर्ता गर्न खोजिरहेको भन्दै व्यवसाय गैरनाफामुलक हुनै नसक्ने पनि बताए । साथै उनले स्थानीय तहमा श्रमजिविहरुको समस्या हेर्न श्रमडेस्क पनि आवश्यक भएको बताए । उद्घाटन समारोहलाई संगठनका पुर्वकेन्द्रीय अध्यक्ष मोतिराज सुनुवार, साविक एमाले धरानका अध्यक्ष नारायण सुवेदी, साविक माओवादी केन्द्रका धरान अध्यक्ष चोत्लुङ, नेकपाका युवा नेता पदम इस्वो, वडा नं १५ का अध्यक्ष नरेश इवारमलगायतले पनि सम्बोधन गरेका थिए ।