ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “अपराधी पत्ता लगाउन पोलिग्राफ टेस्ट” शीर्षकको समाचार छापिएको छ । मोरङको पथरीशनिश्चरे १ की रिना बस्नेत मृत्यु प्रकरणमा स्थानीयले हत्या भएको दाबी गरेपछि प्रहरीले सम्भावित अपराधी पत्ता लगाउन पोलिग्राफ टेष्ट गरेको छ । घटनाको अनुसन्धानमा खटिएका डीएसपी नवराज ढुङ्गानाले घटनालाई सूक्ष्म तरिकाले अनुसन्धान गर्दै पोलिग्रफ मेसिनको प्रयोग थालिएको बताए । प्रहरीले अनुसन्धानका लागि कुरा गरेको व्यक्तिहरुले साँचो या झुटो बोलेको पत्ता लगाउन पोलिग्राफ टेष्ट गर्ने गर्छ । हाल घटनाको अनुसन्धानका लागि प्रहरीले कतिपयलाई दिनभरी प्रहरी कार्यलयमा अनुसन्धानमा राखेर बेलुका घर पठाउने र विहान फेरी बोलाउने गरेको छ । सो घटनामा रिनाका प्रेमी भनिएका कमल नेपाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको र दर्जनौँसंग सोधपुछ गरिरहेको जनाएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा” शीर्षकको समाचार छापिएको छ । दक्षिण एसियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको मारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाईन अन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछयाउने काम बाँकी रहेको छ । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन विछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको ७० किलोमिटर लम्बाइको सो पाइप लाइनको ६५ कि.मि सम्पन्न भइसकेको र अब करीब पाँच कि.मि क्षेत्रमा मात्र काम बाँकी रहेको बताइएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “एक शिक्षकको भरमा प्लस २” शीर्षकको समाचार छापिएको छ । एक हजार १ सय ५४ जना विद्यार्थी । तीन तले आधुनिक भवनमा ४८ वटा कोठा । २८ जना शिक्षक । बेञ्च, डेस्क र आधुनिक बोर्ड । विद्यालय परिसरमै खेलकुद मैदान । खानेपानीको कक्षाकोठामै व्यवस्था । शौचालय चिटिक्क र दुर्गन्ध रहित । उच्च माध्यमिक तहसम्म पठनपाठन । झट्ट सुन्दा कुनै निजी विद्यालय जस्तो लाग्ने यो धनुषाको एक सामुदायिक विद्यालय हो । लक्ष्मीनियाँ गाउँपालिका ७ स्थित रहेको लक्ष्मीनियाँ जनता उच्च मा. विद्यालयको भौतिक संरचना र उपलव्ध गराएको सेवाबारे सुन्दा धेरैले जिब्रो टोक्छन् । तर विद्यिालयमा सरकारले उपलब्ध गराएको सेवा सुविधा अनुरुप विद्यार्थीहरुले गुणस्तरीय शिक्षा अभाव रहेको गुनासो गरेका छन् । शिक्षक अभावमा सात ब्याच देखि पढाइ प्रभावित हुँदै आएको छ । शिक्षक अभावमा विद्यार्थीहरुले नपढिकनै परीक्षामा सहभागी हुन थालेका छन् ।