धरान: मुख्य कार्यालय धरानमा रहेको मितेरी डेभलपमेन्ट बैकले सुनसरीको बराहक्षेत्र नगरापलिका वडा नं १० स्थित प्रकाशपुरमा पनि आफ्नो शाखा विस्तार गरेको छ ।

शनिबारबाट मितेरीले आफ्नो १८ औं शाखा प्रकाशपुरमा विस्तार गरेको हो । शाखाको उद्घाटन बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले गरेका थिए । ग्रामिण क्षेत्रका जनतालाई बैकिङ सेवा प्रवाह गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बैकका सञ्चालक समितिका अध्यक्ष किशन मास्केले बताए । मितेरीले १७ औं शाखा मोरङको दुलारीमा सञ्चालन ल्याउन लागेको जनाएको छ । केही दिनमा नै औपचारिक उद्घाटन गर्ने समेत अध्यक्ष मास्केले बताए ।

मितेरीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रकाशपुरको प्रकाशपुर उच्च माविलाई स्मार्ट कक्षा सञ्चालनको लागि निःशुल्क १–१ थान ल्यापटक र प्रोजेक्टर समेत प्रदान गरिएको थियो । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, बैकका कार्यकारी प्रमुख (सिइओ) तुलसी प्रसाद वस्ती, अन्य कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

Untitled-1 6

मेयर खनालले गाउँमा पनि शाखा विस्तार गरेर ग्रामिण जनतालाई सेवा दिएको भन्दै मितेरीलाई धन्यवाद दिए भने अध्यक्ष मास्केले ग्रामिण क्षेत्रमा आर्थिक गतिविधि बढ्नुका साथै सर्वसाधारणले सहजरुपमा सेवा पाउने बताए । सिइओ वस्तीले अन्य बैंकभन्दा बढी ब्याज मितेरीले दिने गरेको उल्लेख गर्दै बैंकको शाखा खुलेपछि बचत गर्ने वानीको पनि विकास हुने बताए ।

शिविरमा ४२५ जनाको स्वास्थ्य परिक्षण

सोही अवसरमा प्रकाशपुरमा बृहत निःशुल्क सवास्थ्य परिक्षण शिविर समेत चलाइएको थियो । रोटरी क्लव अफ धरान घोपा, रोट्याक्ट क्लव अफ धरान घोपा र मितेरी विकास बैकको संयुक्त आयोजना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा ‘सु–स्वास्थ्य बृहत स्वास्थ्य शिविर’ सञ्चालन गरिएको थियो ।

DSC06533

प्रकाशपुर उच्च मावि परिषरमा गरिएको शिविरमा ४ सय २५ जनाले स्वास्थ्य परिक्षण गरेको शिविर कार्यक्रम संयोजक गौरबमान श्रेष्ठले बताए । उनका अनुसार शिविरमा गरिएको परिक्षणमा महिलाको पाठेघरको मुखको क्यान्सर ५ जनामा देखापरेको थियो । ‘शिवरमा महिलाको पाठेघरको मुखको क्यान्सर ५ जनामा देखियो’ संयोजक श्रेष्ठले फोन सम्पर्कमा भने,‘उनीहरुलाई वीपी प्रतिष्ठानमा रेफर गरिएको छ’ ।

DSC06540

यसैगरी, मधुमेह ४५ जना, महिलाको पाठेघर खस्ने समस्या ६ जनालाई देखा परेको थियो । शिविरमा ४५ जनाको भिडियो भिडियो एक्स–रे गरिएको थियो भने छाला तथा दाँतको समस्या समेत परिक्षण गरिएको थियो । उनीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । वीपी प्रतिष्ठानका आँखा बाहेक सबै विशेषज्ञ सेवा एकै ठाउँमा प्रदान गरिएको उनको भनाइ थियो । शिविर विहान ९ बजेदेखि शुरु भएको थियो । शिविरमा ब्लड गु्रपिङ, ग्वकोज जाँच, भिडियो एक्स–रे, इसिजीलगायतका सेवाहरु प्रदान गरिएको थियो । विशेषज्ञ तथा जुनियर रेजिडेन्टसहित नर्स र प्राविधिक गरी जम्मा ३० जनाको टोली शिविरमा परिचालित थिए ।

तस्बिर सौजन्यः ललित राई