विर्तामोड: झापाको बुद्धशान्ति गाउँपालिकाले गाउँपालिका भित्रका १२ जना युवाहरुलाइ मासिक ६ हजार खाजा खर्चसहित कार्यालय भित्रको काम सिकाउन कार्यक्रम अघि वढाएको छ ।

देशमा वेरोजगारको समस्या चर्किरहेको अवस्थामा बुद्धशान्ति गाउँकार्यपालिकाले ३ महिनाका लागि कक्षा १२ उत्रिण गरेका १२ जना युवाहरुलाई कार्यालय सञ्चालनका लागि इन्ट्रनशिप गराउन लागेको हो । कम्पयुटरमा नेपाली तथा अंग्रेजी दुवै भाषा टाइप गर्न सक्ने युवाहरुलाई स्थानीय सरकारले सञ्चालन गर्ने योजना तथा कार्यक्रमहरुमा दक्षता हाँसिल गराउने उद्देश्य राखेर युवाहरु परिचालन गर्न लागिएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनन्जय कुमार साहले जानकारी दिए ।

आवेदन परेका १९ जना युवाहरुबाट २०७६ वैशाख १३ गते लिइएको लिखित, प्रयोगात्मक तथा मौखिक परीक्षाबाट छनौट भएका १२ जना युवाहरुले ३ महिनासम्म गाउँपालिका कार्यालय र वडाहरुमा आवश्यकता अनुसार पठाइने र योजना, वजेट, अनुगमन तथा मुल्याङ्कन पद्धतीको वारेमा राम्रो ज्ञान हाँसिल गर्ने वताउदै गाउँपालिका अध्यक्ष रमेश भुजेल भन्छन्“युवाहरुलाई ३ महिनासम्म हामीसँगै रहेर काम गर्दा उनीहरुको ब्यक्तिगत विकास तथा भविष्यमा सरकारी कार्यालयहरुमा रिक्त रहेको कर्मचारी पद पुर्तीका लागि समेत उनिहरुले भिड्न सक्छन, कार्य अनुभवका आधारमा उनिहरुको संभावना पनि वलियो हुन सक्ने भएकाले युवाहरुको चासो वढेको छ ।”

तीन महिनासम्म कामको अनुभव लिएका युवाहरुलाई कार्यकाल समाप्त भए पछि कार्य अनुभवको प्रमाणपत्र दिइने वताउदै प्रमुख प्रशासकीय अधिकृत साह भन्छन्,“१२ जना युवाहरुलाई ३ महिना सम्म गाउँपालिकाका विभिन्न काम कार्यवाहीमा हामि सँगै रहेर सहभागी हुने छन । त्यसमा हामीले सहजिकरण गर्ने भएकाले गाउँपालिकाका सम्पुर्ण कामहरु उनीहरुले नजिकबाट नियाल्ने तथा उनीहरुनै सहभागि हुने हुदा निजामती सेवा प्रबेस गर्न लोक सेवा आयोगको परिक्षामा पनि सहयोग पुग्नेछ ।”

झापाको बुद्धशान्ति गाउँपालिकाले युवाहरुको क्षमता विकासका लागि सञ्चालन गर्न गरेको स्वयमसेवक परिचालन कार्यक्रमले एउटा नमुना कार्यको थालनी गरेको छ । जस्का कारण गाउपालिकाका युवाहरुको शिप र क्षमताको विकास हुने देखिएको छ । यस प्रकृतीको कार्यक्रम बुद्धशान्ति गाउँपालिकाले मात्र होइन देशभरका गाउँपालिका तथा नगरपालिकाले सञ्चालन गर्न सके देशमा युवाहरु लोप हुनबाट केही हदसम्म जोगाउन सकिने देखिन्छ ।