धरान: ताप्लेजुङको मौवाखोला गाउँपालिकामा तेस्रो संस्करणको पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

‘पर्यटन प्रबद्र्धनका लागि भलिबल’ भन्ने मुल नाराका साथ श्रीजलजले क्लव साँघुको आयोजनामा प्रतियोगिता बैशाख २२ गतेदेखी २६ गतेसम्म हुने भएको हो । आयोजकले आइतबार धरानमा पत्रकार सम्मेलन गदै प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगितामा तीन विभागीय टिमसहित ११ वटा टिमको सहभागीता हुने प्रतियोगिता संयोजक दिवश चोङवाङले बताए । उनका अनुसार प्रतियोगितामा नेपाल पुलिस, शसस्त्र प्रहरी (एपीएफ) र नेपाल आर्मी, विश्वविद्यालयको टिमसहित सातै वटा प्रदेशको भलिबल टिमको सहभागीता हुने छ ।

प्रतियोगिता लिगकम नकआउटका आधारमा हुने जनाइएको छ । प्रतियोगिता मौवाखोला गाउँपालिका वडा नम्बर ३ साघुस्थित नारायणी माविको खेल मैदानमा हुने आयोजकले जनाएको छ । मौवाखोला गाउँपालिकाको व्यवस्थापन र मौवाखोला समाज काठमाडौंको सह–व्यावस्थापनमा हुने प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय ५ रुपैयाँ र उपविजेताले नगद १ लाख ७६ हजार २ सय ५१ रुपैयाँसहित ट्रफी, मेडल पाउनेछ । आयोजकका अनुसार दोस्रो संस्करणमा विजेताले ३ लाख ३० हजार रुपैयाँ र उपविजेताले १ लाख १५ हजार रुपैयाँ प्राप्त गरेका थिए । पुरस्कार राशीमा केही रकम बृद्धि गरिएको जनाइएको छ ।

यसैगरी, सेमिफाइनलमा हारे पनि दुई टिमले नगद ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछ । ‘दोस्रो संस्करणमा भन्दा यसपटक पुरस्कार राशीमा केही रकम बृद्धि गरेका छौं’ संयोजक चोङबाङ भने ‘सेमिफाइनलबाट बाहरिनेलाई पनि पुरस्कारको व्यावस्था छ ।’ प्रतियोगिताको नगद पुरस्कारको प्रायोजन व्यवसायीहरु वलबहादुर तामाङ, इश्वरी पौडेल र रमेश वरालले गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विधागत पुरस्कारतर्फ सर्बोकृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी, बेष्ट सर्भर, वेष्ट डिफेन्डर, वेष्ट ब्लकर, वेष्ट सेटर, वेष्ट कुईकर, वेष्ट ओपन स्पाईकर र वेष्ट टिम कोचलाई पनि पुरस्कृत गरिने छ । उनीहरुलाई जनही नगद ७–७ हजार रुपैयाँ प्रदान गरिने क्लबले जानकारी दिएको छ । दोस्रो संस्करणको विजेता विभागीय क्लव नेपाल प्रहरी र उपविजेता नेपाल आर्मी क्लव थिए ।

क्लवले २०७१ सालदेखि प्रतियोगिता शुरु गरेको थियो । बर्षेनी आयोजना गर्ने लक्ष्य राखेपनि विविध कारणले बीचमा आयोजना हुन नसकेको क्लबले जनाएको छ । नेपालको राष्ट्रिय खेल फलिबलको प्रबद्र्धन तथा ताप्लेजुङको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गराउदै आएको क्लबको भनाई छ । पत्रकार सम्मेलनमा नेपाल कम्यूनिष्ट पार्टी प्रदेश १ का संसदीय दलका उपनेता टंक आङबुहाङ, सांसद होमकुमारी साँबा, धरान ताप्लेजुङ समाजका अध्यक्ष मनोज कुमार मेन्याङबोलगायतको उपस्थिती रहेको थियो ।