धरान : प्रदेश सरकार मातहतको प्रदेश वन निर्देशनालयको कार्यालय धरानमा स्थापना गरिएको छ ।

विराटनगरमा रहेको प्रदेश वन निर्देशनालको कार्यालय धरानमा स्थानान्तरण गर्ने निर्णय गरेको करिब ६ महिना पछि आइतबार निर्देशनालयको शुभारम्भ गरिएको हो । धरान १३, फुस्रे नजिकै घर भाडामा लिएर निर्देशनालयको कार्यालय स्थापना गरिएको छ । आइतबार एक समारोहबीच प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतले निर्देशनालयको शुभारम्भ गरेका थिए ।

मन्त्री कुसियैतले जनतालाई घरआँगनमा नै सेवा प्रवाह गर्ने उद्देश्यले संघीयता ल्याएको धारणा राख्दै सोही अनुसार संघीय सरकारको संरचनाहरु स्थापना गरिएको बताए । अर्को बर्ष आफ्नै भवनमा निर्देशनालयलाई राख्ने गरी बजेट विनियोजन गरिने मन्त्री कुसियैतले बताए । साथै, उनले सरकारी कार्यालय धरानबाट अन्यत्र स्थानान्तरण हुन नदिन नगरबासीले नै साथ, सहयोग गर्नुपर्ने पनि बताए ।

ban

कायम मुकायम वन निर्देशक यादव धितालका अनुसार १ नं प्रदेशका १४ जिल्लामा रहेको १५ वटा वन डिभिजन कार्यालय र २ जलाधार व्यवस्थापन कार्यालयको अनुगमन, निरीक्षण र निर्देशन गर्ने काम निर्देशनालयले गर्नेछ । कार्यालयमा एक सहसचिव, ४ उपसचिवसहित कुल २८ कर्मचारी हुनेछन् । ‘वन प्रशासन र वन विकासको निरीक्षण, अनुगमनको काम यहाँबाट हुन्छ । १४ जिल्लाको १५ वन डिभिजन र २ वटा जलाधार कार्यालयको अनुगमन, आवश्यक निर्देशन गर्ने र नीतिगत कुरामा पुलको काम गछौं,’उनले भने । प्रदेश वन मन्त्रालयका सचिव बद्रीराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, सुनसरीका प्रजिअ प्रेमप्रकाश उप्रेतीले पनि मन्तव्य व्यक्त गरेका थिए ।