धरान:स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि वस्तीलाई जोखिममा पार्ने गरी खोला ठेक्का लाग्न नछोडेको भन्दै सर्वसाधारण जनता प्रतिकारमा उत्रिएका छन् ।

जनप्रतिनिधिसमेतको आडमा ठेकेदारहरुले खोलामा जथाभावी उत्खनन गर्न थालेपछि खोला कटानबाट प्रभावित जनता प्रतिकारमा उत्रिएका हुन् । धरान १५, ४ र ५ भएर बग्ने सेउती खोलाको तल्लो क्षेत्रमा ठेकेदारले जेसिबि लगाएर उत्खनन गर्न खोजेपछि स्थानीयबासीले आज प्रतिकार गरेका छन् । सो क्रममा ठेकेदार पक्षले भने गुण्डाहरु पनि ल्याएर गाउँका ज्येष्ठ नागरिकहरुलाई हातपात गरेको स्थानीय धनबहादुर राईले जानकारी दिए । ‘५ नम्बरको वडाअध्यक्ष पनि ठेकेदारको पक्षबाट आए, केटाहरु ल्याएर हामीलाई धम्की दिने काम पनि भयो । एक जना वृद्ध मानिसलाई त हातपात पनि भयो,’उनले भने,‘खोलाको ठेक्कामा सबैको मिलेमतो छ ।’

kholaa-thekka

ठेकेदारले जेसिबि स्काभेटर लगाएर उत्खनन गर्न खोजेपछि स्थानीयबासीले हिजो र आज निरन्तर प्रतिकार गरेर अवरोध गरेका छन् । सुन्दरवस्ती जोखिममा पर्ने भन्दै स्थानीयबासी प्रतिकारमा उत्रिएपछि ठेकेदारले पनि धरान र इटहरीका गुण्डा केटाहरु ल्याएको स्थानीय बताउँछन् । विगतमा चुरे क्षेत्र भनेर अहिलेसम्म ठेक्का नलागेको माथिल्लो क्षेत्रमा पनि जनप्रतिनिधि आएपछि भने ठेक्का लगाएको भन्दै स्थानीयबासी कार्यवाहक मेयरप्रति पनि आक्रोशित छन् । ‘हामीले नै चुनाव जिताएर अध्यक्ष बनायौ, मेयर र उपमेयर बनायौ, तर अहिले उनीहरुलाई हाम्रो समस्या नै वास्ता छैन । हुदैन भन्दा भन्दै ठेक्का लगाए,’स्थानीय युवा सन्दीप लिम्बूले भने,‘वस्ती जोखिममा छ, जंगल क्षेत्र कटान हुन्छ भन्ने थाह भएर पनि जनप्रतिनिधि भनाउदाहरु नै गुण्डा ल्याएर जर्बजस्ती गर्छन् ।’

उपमहानगरकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले भने अध्ययनबाट चुरेक्षेत्र नपर्ने देखिएको र आइई रिपोर्टको आधारमा मात्र नदीजन्य पदार्थ निकाल्न मिल्ने गरी ठेक्का लगाएको बताइन् । ‘च्यानलिङ गरेर निश्चित परिणाम मात्र निकाल्न मिल्छ,’उनले भनिन् । ठेकेदार मुकुन्द कटवालले भने गुण्डा नलगाएको दाबी गरे । ठेक्का पाएको क्षेत्रमा काम गर्न खोज्दा अवरोध पुगेपछि आफुहरुले काम रोकेको उनको भनाई छ ।