धरान: वालमैत्री नगर घोषणाको लागि धमाधम कार्यक्रमहरु भइरहेको धरान उपमहानगरपालिकामा विद्यालयभित्रै एक विद्यार्थी कुटिएको घटना भने गुपचुप मिलाइएको छ ।

धरानको वडा नं ६ पानवारीस्थित रणदेवी प्राविको जग्गादातासमेत रहेका पुर्वशिक्षक कुलबहादुर खनालले घाँस उखेलिदिएको निहुँमा एक विद्यार्थीलाई आइतबार विद्यालयमै कुटेका थिए । खनालले कक्षा १ मा अध्ययनरत ९ बर्षीय राजु तामाङलाई आइतबार दिउँसो विद्यालयमा नै कुटेका हुन् । दिउँसो टिफिनको समयमा खेल्ने क्रममा विद्यार्थीहरु विद्यालयसँगै जोडिएको खनालको जग्गामा पुगेका थिए । त्यसक्रममा विद्यार्थीले घाँस उखेलेको भन्दै खनालले तामाङलाई गालामा २, ३ थप्पड लगाएका थिए । उनको पिटाईले विद्यार्थीले कपडामै पिसाबसमेत गरेको पीडितका बुबा बिर्खबहादुर तामाङले बताए ।

पीडित विद्यार्थीको दुवै गालाको मुनि गल्फुलो इन्फेक्सन भएर केही समयअघि अप्रेशन गरिएको थियो । त्यही कारण पनि खनालले जोडले गालामा थप्पड हान्दा तामाङको गाला सुनिएको थियो । उनलाई राती ज्वरो पनि आएको थियो । घटनाले उग्ररुप लिनसक्ने भएपछि आज सोमबार बिहानै वडाअध्यक्ष, प्रहरीसमेतको रोहबरमा मिलाइएको थियो । ‘हामीलाई बोलायो, यो ठाउँको बारेमा धेरै थाह छैन,’पीडितका बुबाले भने,‘कुट्नेले पनि गल्ती भयो, उपचार गरिदिन्छु भन्यो । अध्यक्ष ज्यु, प्रहरीले पनि ठिकै छ, एक पटकलाई भइगयो भनेपछि हुन्छ भन्यौ ।’

आज बिहान पीडित बालकलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको थियो । डाक्टरले जाँच गरेर गम्भीर समस्या नदेखिएको भन्दै आवश्यक औषधी दिएर घर पठाएको छ । तर, ३ दिन आराम गराउन र केही समस्या भए लिएर आउन भनेको पीडितका बुबा बिर्खबहादुरले बताए । बिहान छलफलमा वडा बाल सञ्जाल, विद्यालयका प्रिन्सिपल, शिक्षक शिक्षिकाहरु पनि थिए भने वडा नं १५ का सचिव हिरा खत्री पनि थिए । सचिव खत्रीसहित बाल सञ्जालले कानुनी कारबाहीको कुरा उठाए पनि वडा नं ६ का अध्यक्ष भुवनसिं बस्नेत र प्रहरीसमेतले यस्तो मान्छेबाट गल्ती भइहाल्छ भन्दै मिल्न दबाब दिएका थिए ।

बाल सञ्जालकी अध्यक्ष पुष्प कटवालले आफुहरुले विद्यालयमा बाहिरबाट गएर कुटपिट गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेपनि एकपटकलाई गल्ती भैहाल्यो भन्दै मिल्न दबाब दिएको बताइन् । ‘हामीले त विद्यालयमा बाहिरबाट गएर विद्यार्थी कुट्नेलाई कानुनी कारबाही हुनुपर्छ भन्यौ, तर गल्ती भैहाल्यो, उपचार खर्च दिलाउने भनेर मिलाए,’उनले भनिन् । विद्यालयकी प्रिन्सिपल दमयन्ती कार्कीले पनि शान्ति क्षेत्र भनिएको विद्यालयमा आएर विद्यार्थीलाई कुट्नु जघन्य अपराध भएको बताइन् । शिक्षक, शिक्षिकाहरुलाई केही पनि नभनि विद्यार्थी कुट्नेलाई कारबाही हुनुपर्ने आफुहरुको माग भएपनि जनप्रतिनिधिहरुले नै एक पटकलाई छोडिदिन भनेको बताइन् ।

‘विद्यार्थीले गल्ती गरेको भएपनि सम्झाउनु पर्ने थियो, अथवा हामीलाई भन्नुपर्ने थियो । त्यसरी कुट्न हुदैन, अपराध हो,’उनले भनिन्,‘विद्यार्थीले पिसाबै फेर्ने गरी कस्तरी कुटे होला ? गाला सुन्निएको थियो । रातभरि पनि ज्वरो आयो रे ।’ कुट्ने खनाल वडाअध्यक्ष बस्नेतका आफन्त हुन् । त्यसैले यो घटनालाई मिलाइएको आरोप पनि छ । तर, अध्यक्ष बस्नेत भने दुवै पक्ष छिमेकी भएकोले आपसी समझदारी भएको दाबी गरे । ‘स्कुलसँगै जोडिएको जग्गामा घाँस उखेलेको भनेर गालामा हिर्काएछन्, पहिला अप्रेशन गरेकोले सुनिएछ,’वडाअध्यक्ष बस्नेतले भने,‘छरछिमेकीको कुरा हो, त्यस्तो ठुलो पनि होइन ।’