ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “अज्ञात रोगले मगर गाउँ ग्रसित” शीर्षकको समाचार छापिएको छ । उदयपुरको एक गाउँमा गम्भीर प्रकृतिको अज्ञात रोग फेला परेको छ । रौतामाई गाउँपालिका ६ नामन्ताका मगर गाउँका बासिन्दाहरुमा शरीर काँप्ने अज्ञात रोग फेला परेको हो । आदिबासी जनजातिभित्र पर्ने मगर जातिको समाल थरमा देखापरेको अज्ञात रोग २५ वर्ष उमेर कटेपछि लाग्ने गरेको स्थानीयबासीले बताएका छन् । यस रोगले ३ जनाको ज्यान समेत गइसकेको छ । एकै गाउँका एकै साथ ७ जना विरामी भएपछि उपचारको लागि आइतबार जिल्ला अस्पताल उदयपुर ल्याइएको हो । ७० वर्षीय डम्बर बहादुर समाल मगर, ६४ वर्षीय तुल बहादुर समाल मगर, २९ वर्षीय बलबहादुर समाल मगर, ४० वर्षीय हीरामायाँ मगर, ३६ वर्षीय ललीमाया मगर र २९ वर्षीय पुष्प समाल मगरलाई एकै साथ उक्त रोगले समातेको थियो ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “खोलामा राइफल फेला” शीर्षकको अर्को समाचार पनि छापिएको छ । नेपाली सेनाले मात्रै चलाउँदै आएको एम १६ अत्याधुनिक हतियार मोरङको मिक्लाजुङ गाउँपालिका ६ स्थित नुनसरी–बक्राहा खोलामा फेला परेको छ । प्रोपटी अफ युएस गोभर्नमेन्ट लेखिएको हतियार खोलामा गाडिराखेको अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ । फेला परेको हतियारको धेरै पार्टपुर्जा काम नलाग्ने र सडेको अवस्थामा रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । प्रहरीले थोत्रो अवस्थामा फेला परेका कारण हतियार धेरै पहिलेदेखि माटोमा पुरिएको हुनसक्ने अनुमान गरेको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “१२ वर्षपछि पप्पु पक्राउ” शीर्षकको समाचार छापिएको छ । १२ वर्षअघिको डाँका तथा बलात्कार मुद्दामा अदालतबाट दोषी ठहरिएका एक व्यक्ती पक्राउ परेका छन् । मोरङको ग्रामथान गाउँपालिका ६ बस्ने ३२ वर्षीय पेसेवर डाँका पप्पु मियाँलाई १२ वर्ष अघि फैसला भएको १४ वर्ष कैद भुक्तानका लागि आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पप्पुले २०६४ साल साउन ६ गते राति मोरङको बैजनाथपुर गाउँपालिका ५ का सुरेन्द्र बुढाथोकीको घरबाट ९ लाख, २०६४ भदौ १५ गते मोरङकै टंकिसिनवारी गाबिसका राम कुमार बुढाथोकीको घरबाट ९१ ह्जार ६ सय र सोही रात विराटनगर महानगरपालिका ४ को एक घरमा लुटपाट गरी जबरजस्ती करणी समेत गरेका थिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “जागिरको लोभमा १ सय ११ जना ठगिए” शीर्षकको समाचार छापिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ७ गडौलीकी दुर्गा केसी जागिरको खोजिमा थिइन् । त्यही समयमा फेसबुकमा साथी बनेका गोलञ्जोर गाउँपालिका ४ का एकेन्द्र मगरले आफु आइएनजिओको प्रमुख रहेको र जागिर लागइदिने आश्वासन दिए । उनी आश्वासनसंगै खुशी भइन् । एकेन्द्रले पनि फर्म भर्न र तालिम गर्न भने ६ हजार ६ सय तिरेर दुर्गाले फर्म भरिन् र ३ दिनको तालिम लिईन् । गाउँगाउँमा गएर २ महिना काम पनि गरिन् । तर उनलाई तलब दिने अत्तोपत्तो भएन उल्टै एकेन्द्र सम्पर्कविहिन भए । लामो समयदेखि सम्पर्कविहीन भएपछि उनलाई आफु ठगिएको थाहाँ भयो ।