इन्डोनेसियाले आफ्नो राजधानी जकार्ताबाट अन्यत्र सार्ने भएको छ ।

इन्डोनेसियाका योजनामन्त्री मन्त्री ब्यामब्याङ ब्रोजोनेगोरोले राजधानी सार्ने निर्णय भएको जानकारी दिएका हुन् । उनले राष्ट्रपति जोको विडोडोले एउटा महत्वपूर्ण निर्णयअन्तर्गत राजधानीलाई अन्यत्र सार्ने विषय टुंगो लगाइएको बताए । इन्डोनेसियामा यसै महिनाको सुरुमा भएको आमनिर्वाचनमा विडोडोले विजयी भएको घोषणा गरेपछि पछिल्लो निर्णय गरेका हुन् ।

यद्यपी निर्वाचनको परिणाम भने आगामी मे २२ तारिखमा मात्र घोषणा हुने छ । राजधानी सार्ने निर्णय भए पनि नयाँ स्थानको भने टुंगो लागेको छैन । यद्यपि कतिपय सञ्चारमाध्यमले भने बोर्निओ टापुमा पर्ने पलाङ्करायामा नयाँ राजधानी राखिने बताएका छन् ।

जकार्ता तीव्र गतिमा डुबिरहेका विश्वका शहरहरूमध्ये एक हो । यो शहरमा अहिले १ करोड मानिस बस्दै आएका छन् । अनुसन्धानकर्ताहरुले सन् २०५० सम्ममा जकार्ताको ठूलो हिस्सा डुबिसक्ने दाबी गरेका छन् । जकार्ताको आधाजसो हिस्सा समुद्रको सतहभन्दा तल पर्छ ।

जमिनमुनिको पानी अत्याधिक तान्ने क्रम बढ्दै गएपछि जाकार्ता डुब्ने खतरामा परेको हो । सन् १९४५ मा इन्डोनेसिया स्वतन्त्र भएदेखि नै राजधानी सार्ने मुद्दा पटक–पटक आउने गरेको थियो । सन् २०१६ मा गरिएको एउटा सर्वेक्षणका अनुसार जकार्तामा विश्वकै सबैभन्दा नराम्रो ट्राफिक जाम हुने गरेको थियो ।

योजनामन्त्रीका अनुसार जर्कातामा ट्राफिक जाम व्यवस्थापनमा प्रतिवर्ष ६.८ अर्ब डलर खर्च हुने गरेको छ ।