धरान: जथाभावी खोला उत्खनन भएको र वस्ती जोखिममा पर्ने भन्दै स्थानीयबासीले विरोधमा उत्रिएपछि आज बिहान धरान उपमहानगरपालिकाको टोलीले स्थलगत अनुगमन गरेको छ ।

अधेरी र सेहरा खोलामा जथाभावी उत्खनन भएको भन्दै स्थानीयबासीले उत्खननमा अवरोध गरेपछि समस्या समाधान गर्न भन्दै उपमहानगरपालिकाको टोलीले आज स्थलगत अनुगमन गरेको हो । वडा नं १५ का अध्यक्ष नरेश इवारम, वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, वन तथा वातावरण महाशाखा प्रमुख भेषराज घिमिरेको टोलीले स्थलगत अवलोकन गरेका हुन् । त्यसक्रममा उनीहरुले स्थानीयबासीसँग समस्या समाधान गर्न छलफल पनि गरेका थिए । साथै, तोकिएको स्थानभन्दा अन्यत्रबाट ढुंगा उठाइरहेको गुनासोप्रति टोलीले ठेकेदार पक्षलाई सम्झौता र तोकिएको स्थानभन्दा अन्यत्रबाट ढुंगा,गिटी नउठाउन पनि निर्देशन दिएको थियो ।

उपमहानगरपालिकाको टोलीले अधेरी खोला र सेहरा खोलामा स्थलगत अनुगमन गर्नुका साथै वस्तीको सुरक्षाको लागि तत्काल आवश्यक काम गर्ने पनि आश्वासन दिएका थिए । खोलाको अध्ययन गरेर साथै आइइई प्रतिवेदनको आधारमा नै ठेक्का लगाएको उनीहरुको भनाई थियो । खोलाबाट नदीजन्य पदार्थ ननिकाल्दा सतह माथि हुदै गएको र बर्खामा बाढी वस्ती पस्ने झनै जोखिम भएकोले आइइई रिपोटअनुसार च्यानलिङ गरेर ढुंगा,गिटी निकाल्न ठेक्का लगाइएको वरिष्ठ प्रशासकीय अधिकृत खतिवडाले बताए । ‘बीचमा च्यानलिङ गरेर ढुंगा,मिक्सगिटी ननिकाल्दा नै सतह माथि उठ्दै गएर खोला दाँया बाँया कुदेर वस्ती कटानको जोखिममा परेको हो,’उनले भने,‘आइइई रिपोर्ट अनुसार बीचमा च्यानलिङ गरेर निकाल्ने हो भने वस्तीको सुरक्षाको लागि राम्रो हुन्छ ।तर, रिपोर्टभन्दा दाँया बाँया गर्न पाइदैन ।’

IMG_20190430_094217

स्थानीयको माग अनुसार वस्तीको सुरक्षाको लागि जोखिमको ठाउँहरुमा तारजाली लगाउन उपमहानगरले काम थाल्ने सहमति पनि अनुगमन टोलीले गरेको थियो । त्यसको लागि उपभोक्ता समिति गठन गरेर स्थानीयबासीले वडा कार्यालय हुदै उपमहानगरपालिकामा निवेदन दिने र तत्काल वस्ती सुरक्षाको काम थाल्ने सहमति भएको थियो । ‘हामीले पनि ठेक्का नलगाओस् भनेको होइन । तर, हाम्रो वस्तीको सुरक्षा हुनुपर्छ, जथाभावी ढुंगा,गिटी झिक्न पाइदैन भनेको हो,’वडा ५ खैरेनीका ज्ञानेश लिम्बूले भने,‘कहाँसम्मको ढुंगा टिप्ने भनेको छ, तर यो सेहरा खोलामा जतापायो त्यतै टिपिरहेको छ ।’ ठेकेदार मुकुन्द खनालले काम गर्ने सिलसिलामा सामान्य भुल हुने भन्दै आइइई प्रतिवेदन र ठेक्का सम्झौता भन्दा बढी नझिक्ने बताएका थिए ।