नाम: तारा नेपाली,
बर्ष: ३८
घर नं.: ५०
ठेगाना: अरुण गाउँपालिका २ भोजपुर
१८ बर्षमै विवाह, २८ बर्षमै एकल(बिधुवा )।

भोजपुर अरुण गाउँपालिका २ चम्पेकी तारा नेपालीले आफ्नो कथा सुनाउँन सुरु गर्नु अघि परिचयको क्रममा नै भावुक भईन् । किसोरी अवस्थामै विवाह गरेकी उनले युवा उमेरमा नै श्रीमान पनि गुमाइन् ।

अहिले पनि छुवाछुत, विभेद बिद्यमान छ । यस्ता कुरालाई सामना गरेर हिड्न निकै कठिन छ । आफ्ना दुई छोराहरुलाई कसरी हुर्काउने भन्ने चिन्ता छ उनलाई । ‘छोराहरु सानै छन्, श्रीमानको मृत्युले धेरै गाह्रो छ,’उनले भनिन् । १८ बर्षको उमेरमा विवाह गरेकी तारा २८ बर्षको उमेरमा एकल भएकी थिइन् । एकल जीवन बिताएको पनि एक दशक बितिसकेको छ । यो एकल एक दशकमा उनले एक जुनी बराबर अनेकन अनुभव र अनूभुति संगालेकी छिन् ।

जेठो छोरा मनिष १५ बर्षका भए । उनी भोजपुरमा कक्षा ९ मा पढ्दैछन् । सानो छोरा भर्खर शिशु कक्षा जान थालेका छन् । माइती घर भोजपुरको च्याङ्ग्रे हो । चम्पेमा विवाह गरेर आएको दश बर्ष नबित्दै श्रीमानको निधन भयो । त्यसपछि उनको एकल जीवन कठिन बन्यो । ‘एकल महिला भनेर हेपेको त छैन, तर खान लाउनलाई धेरै दुःख छ, खेती गरेर पनि पुग्दैन,’उनले भनिन् । भरपर्दो आर्थिक स्रोत छैन । त्यसले गर्दा परिवारको गुजारा चलाउन हम्मे छ । ‘पहिला श्रीमान हुँदा कपडा सिलाई गरेर जीवीकोपार्जन हुन्थ्यो,’उनले भनिन् ।

Recoverd_jpg_file(2497)

नजिकै राम्रो अस्पताल छैन । प्राथमिक स्वास्थ्य चौकी छ, तर औषधी हुदैन । दुःख विमार हुदा उपचार गराउन सदरमुकाम भोजपुर बजार नै पुग्नुपर्छ । एकल महिलालाई समाजमा अरु कसैसँग बोल्दा पनि नराम्रो सोच्ने गर्छन् । एकल महिला भएर बाँच्न गाह्रो हुने उनले अनुभव सुनाइन् । ‘आफ्नो ठाउँमा आँफू बस्नुपर्छ, मान्छेले नराम्रो कुरा काट्दैमा केही हुन्न, भगवानले सबै सत्य कुरा देख्छन्,’उनले भनिन् । पहिला पधेरोमा पानी लिन जादा पनि विभेद हुन्थ्यो । अहिले समाज परिवर्तन हुदै गएको उनले महसुस गरेकी छिन् । गाउँमा बिजुली छेन । पिउने पानीको पनि समस्या उस्तै छ ।

समाजको भन्दा पनि आफ्ना सन्तानको भविष्यबारे उनलाई चिन्ता छ । गाउँमा आयोजना हुने सीपमूलक कार्यक्रममा सहभागी नगराएकोमा उनलाई गुनासो छ । एकल महिला वापतको भत्ता पाउछिन्, तर त्यतिले जीवन गुजारा हुदैन । स्थानीय तहका जनप्रतिनिधिले दिएको आश्वासन पूरा नगरेकोमा पनि उनको गुनासो छ । आफ्नो समस्या सुनुवाई नै नहुने उनले दुःखेसो पोखिन् । ‘सानैमा विवाह भयो, उमेरमै श्रीमा गुमाए, बाँच्नलाई धेरै सर्घष गर्नुपरेको छ,’उनले भनिन् ।