धरान:धरान १८ बुद्धचोक हुदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने अतिब्यस्त र महत्वपुर्ण सडकलाई विस्तार गर्ने काम शुरु भएको छ ।

ब्यस्त सडक भएपनि साँघुरो भएको भन्ने गुनासो बढेपछि नगरको योजनामा समावेश गरेर विस्तार कार्य थालिएको वडा नं १८ का अध्यक्ष प्रविण राईले जानकारी दिए । उनका अनुसार यो सडक चालु आर्थिक बर्षमा बुद्ध चोकदेखि वीपी प्रतिष्ठानअघिको गुम्बास्थित टेम्पो स्टेण्डसम्म विस्तार हुनेछ भने आगामी आर्थिक बर्षमा वीपी प्रतिष्ठानको मुलगेटसम्म नै विस्तार हुनेछ ।

budha

सडक दुवैतर्फ ५/५ फिट विस्तार हुने अध्यक्ष राईले जानकारी दिए । ‘अहिले ३६ फुटे बाटो छ, दुवैतर्फ ५, ५ फिट बढेर ४६ फुट हुन्छ,’उनले भने,‘विरामी बोकेर एम्बुलेन्स हस्पिटल आइरहनुपर्ने बाटो साघुरो भएपछि विस्तार गर्न लागिएको हो ।’ उनका अनुसार सडक अहिलेभन्दा १० फिट बढ्नेछ भने ड्रेनलाई मर्मत गरिनेछ । साथै, फुटपाथ पनि टायल लगाएर बनाइनेछ ।

यो सडक उपभोक्ताको २० प्रतिशत लगानी र बाँकी उपमहानगरपालिकाको बजेटमा विस्तार हुन लागेको हो । यसको लागि ५० लाख लागत अनुमान गरिएको छ भने विजुलीको पोल सार्ने कामकोसमेत खर्च हिसाब गर्दा ६० लाख पुग्ने अनुमान गरिएको छ ।